आइतबार, जेठ २४, २०८३

गाउँपालिकाले चलाएको नमुना बालगृह

गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ।
 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

ढोरपाटन (बागलुङ)- तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ। गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ।

National life

सुरुमा ३४ बालबालिका रहेकामा अहिले २७ जना रहेका बालगृह सञ्चालक समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष झकबहादुर बुढामगरले बताए। गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याई यहाँ राखेर उनीहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको उनले बताए। अहिले बालबालिको पढाइ राम्रो बन्दै गएको उनको भनाइ थियो।

तमानखोला गाउँपालिका–६ नर्जाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आएका छन्। सानै उमेरमा आमा बितेपछि उनलाई हजुरबुबा हजुरआमाको जिम्मा लगाइएको थियो। कक्षा ९ मा पढ्ने उनले बुढा हजुरबुबा हजुरआमासँग कष्टकर जीवन बिताइरहेका थिए। दीपेन्द्रलाई गत वर्ष गाउँपालिकाले बालगृहमा ल्याएर निःशुल्क पालनपोषण र पढाइ लेखाइको प्रबन्ध मिलाएको छ।

घरमा हुँदा राम्रोसँग पढ्न र पेटभरि खाना नपाएको बताउँदै दीपेन्द्रले अहिले दैनिक विद्यालय जाने र पेटभरि खान पाएको बताए। सानैमा आमा गुमाएका दीपेन्द्रले आमाको माया नपाए पनि हजुरबुबा र हजुरआमाको माया भने प्रशस्त पाए। अहिले बालगृहमा साथीभाइबाट पनि उत्तिकै माया पाएका छन्। घरमा हुँदा भोगेका दुःख, कष्टलाई दीपेन्द्रले भुल्न सकेका छैनन्। घरपरिवारमा हुँदा दुःख पाएको भए पनि अहिले धेरै सहज रूपमा दैनिकी चलेको उनको भनाइ थियो।

बालगृहमा आफूजस्ता थुप्रै अभिभावकविहीन बालबालिका रहेका भन्दै सबैसँग मिलेर बस्ने गरेको दीपेन्द्रले बताए। बेलाबेला गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि आएर नयाँ र सिर्जनशील काम गर्न प्रेरित गर्ने र आफूहरूको समस्या बुझ्ने गरेको उनको भनाइ थियो। अहिले बालगृहमा रहेका बालबालिकासँग एउटै परिवारको सदस्यजस्तै मिलेर बस्ने तथा आवश्यक सामान समयमै पाउने गरेको विकले बताए।

Shivam cement

‘म सानै हुँदा आमा बित्नुभएछ, बाजे र बजैले निकै दुःख गरेर मलाई हुर्काउनुभयो, अहिले त अलि ठूलो भएँ, पोहोर सालदेखि गाउँपालिकाका सरहरूले यहाँ लिएर राख्नुभएको छ। बाबाले बिहे गरेर मलाई छाडेर जानुभयो, कहाँ हुनुहुन्छ थाहा छैन। घरमा हुँदा पढ्न मन भए पनि राम्रोसँग पढ्ने वातावरण थिएन’, उनले भने, ‘अहिले धेरै सुविधा पाएको छु। पढाइ पनि राम्रो भएको छ, दिनदिनै स्कुल जान पाएको छु, खुसी लागेको छ।’

तमानखोला गाउँपालिका–२ भयर भोंगाकी १४ वर्षीया निता सिर्पाली पनि यही बालगृहमा बस्दै आएकी छिन्। निताको बुबाको मृत्युपछि आमाले अर्को बिहे गरेर गइन्। बुबाआमा नभएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आएकी निताले सानोमा निकै दुःखदायी जीवन बिताइन्। अहिले बालगृहमा बस्न थालेपछि उनको दैनिकी फेरिएको छ। परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा पढ्न लेख्न नपाएको भन्दै अहिले दैनिक विद्यालय जाने र पढाइ सुधार हुँदै गएको उनले बताइन्।

‘घरमा हुँदा कापी कलम किन्ने पैसा पनि हुँदैनथ्यो, घरको सबै काम गर्नुपर्थ्यो। बाजे-बज्यै बूढाबूढी हुँदा काम गर्न सक्नु हुँदैनथ्यो, कहिले स्कुल गइन्थ्यो, कहिले गइन्नथ्यो’, निताले भनिन्, ‘अहिले त सधैं स्कुल गइन्छ, पहिला खाना लगाउन राम्रोसँग पाइन्नथ्यो, अहिले राम्रो भएको छ। साथी पनि धेरै छन्, खेल्ने, पढ्ने समय हुन्छ। स्कुल पनि नजिकै छ, पहिलेको जस्तो टाढा जानु पर्दैन।’

बालगृह सञ्चालक समितिका संयोजक बुढामगरले भने, ‘बालगृह सञ्चालनताका ३४ जना बालबालिकालाई ल्याएर यहाँ राखेका थियौं। पछि उनीहरूको आमाबुबा कोही विदेश रहेछन्, आएर लगे। अहिले २७ जनालाई राम्रो व्यवस्थापनका साथ लालनपालन र पढाउने काम भइरहेको छ। समय–समयमा विभिन्न संघसंस्थाले पनि सहयोग गर्ने गरेका छन्।’

उनले बालगृह गाउँपालिकाको लगानीमा सञ्चालन गरिएको जानकारी दिए। बुढामगरका अनुसार गाउँपालिकाले तमान गाउँमा घरभाडामा लिएर बालगृह सञ्चालन गरेको छ। बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन्।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन् भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताए। बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सीपमूलक तालिम दिने, रोजगारीको व्यवस्था मिलाउनेलगायत काम गरिने उनको भनाइ थियो। पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताए।

‘हाम्रो पालिका अलि पिछडिएको ठाउँमा पर्छ, यसले गर्दा यहाँ थुप्रै चुनौती छन्। त्यसलाई चिर्दै विकास गर्ने हाम्रो लक्ष्य हो, पूर्वाधार विकासका काम त हामीहरूले निरन्तर गर्दै आइरहेका छौं। पोहोर सालदेखि आमाबाबु गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरी उनीहरूको पालनपोषण र शिक्षादीक्षा दिने कामको थालनी गरेका छौं’, अध्यक्ष बुढामगरले भने, ‘अहिले बालबालिकामा छुट्टै खालको खुसी देखिन्छ। उनीहरूको खुसीले हामीलाई पनि खुसी बनाउँछ। पढ्न नपाएका बालबालिका अहिले खुसीका साथ पढ्न पाएका छन्। अब उनीहरूलाई सीपसँग जोडेर स्वरोजगार बनाउने योजनामा छौं।’

बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन्। बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ।    -रासस

प्रकाशित: Sep 29, 2023| 13:12 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्