काठमाडौं– तनहुँको भिमाद नगरपालिका–९ सखेपमा रहेको भानुमति साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक चुत्रबहादुर थापा निक्षेपकर्ताको ३ करोड ठगी आरोपमा पक्राउ परेका छन्। तनहुँ प्रहरीले सहकारीको झन्डै ३ करोड ठगीको आरोप लागेका सहकारीका प्रबन्धक थापालाई बिहीबार पक्राउ गरेको हो।
थापाले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र १३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण जनाएर रकम हिनामिना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।
थापाले संस्थाको २ करोड ६९ लाख ७१ हजार ९६६ हिनामिना गरेको भनी उनीविरुद्ध जाहेरी परेपछि पक्राउ गरिएको प्रनाउ खाणको भनाइ छ। प्रहरीले थापालाई तनहुँ जिल्ला अदालतबाट सात दिने म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ।