आइतबार, जेठ २४, २०८३

ट्र्याक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरू

 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

बेनी- म्याग्दीको बेनी नगरपालिका-४ सिङगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्र्याक निर्माण भएको आठ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ।

National life

बेनी-दरवाङ सडकखण्ड अन्तर्गत सिङगाको ठूलोखोलादेखि वडा नं ४ र ५ का ग्रामीण बस्ती जोड्ने सिङगा-सिस्नेरी-डाँडाखेत-पुलाचौर-गाजने हुँदै ढोलठान पुग्ने सडकको स्तरोन्नति सुरु गरिएको हो।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक आयोजना अन्तर्गत सडक स्तरोन्नति सुरु गरिएको वडा नं ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए। प्रदेश निर्वाचन क्षेत्र-१ का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा कृषि सडक स्तरोन्नतिमा छनोट भएको यस आयोजनाका लागि एक करोड रूपैयाँ बजेट विनियोजन भएको थियो। 

गत असार २१ मा पूर्वाधार विकास कार्यालय, म्याग्दीसँग ठेक्का सम्झौता गरेको मुक्तिनाथ हाइवे/कालीगण्डकी निर्माण जेभीले सडक मर्मत अघि बढाएको छ। विसं २०७२ मा सडकको ट्र्याक निर्माणले पूर्णता पाएको भए पनि यस वर्षदेखि आयोजनाकै रुपमा सडक स्तरोन्नति थालिएको वडा अध्यक्ष खड्काले जानकारी दिए।

आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी जनशक्ति, मेसिन, उपकरण र निर्माण सामग्रीको परिचालन गरिएको कम्पनीको भनाइ छ। अहिले सिस्नेरी- बाँजगरा क्षेत्रको उकालो र कठिन घुम्तीमा सडक ढलानको काम भइरहेको छ। ठूलो खोला र अँधेरीखोला क्षेत्रमासमेत सडक ढलान गरिनेछ। निर्माण कम्पनीले सडक ढलानको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिए।

Shivam cement

उनका अनुसार चालु आवमा सडकखण्डको विभिन्न स्थानमा करिब एक सय ६० मिटर सडक ढलान गरिने छ।

त्यसैगरी सात सय ४१ घनमिटर ग्याबिन जाली लगाउने र ३९ घनमिटर पक्की पर्खाल निर्माण गरिने छ। यस सडकखण्डका केही स्थानमा गत वर्ष बेनी नगरपालिकाले समेत गौरवको योजनाका रुपमा बजेट विनियोजन गरेर सडक ढलान गरेको थियो। नगरपालिकाले ३८ लाख रूपैयाँ बजेटबाट राजकुलो -कुटीडाँडा-धुविबोट हुँदै पख्रेलटोल जाने बाटोमा करिब ८५ मिटर सडक ढलान गरिएको थियो।

सडक स्तरोन्नति योजनाको गण्डकी प्रदेशसभा सदस्य भण्डारी, वडाध्यक्ष खड्का लगायतले टोलीले स्थलगत अनुगमन, निरीक्षण र अवलोकन गरेका छन्। योजनाको अनुगमन गर्दै प्रदेशसभा सदस्य भण्डारीले सडक साँघुरो रहेको ठाउँ र घुम्तीमा सडकलाई पराकिलो बनाउन र योजनालाई गुणस्तरीय बनाउन निर्माण व्यवसायी र प्राविधिकलाई निर्देशन दिए।

उनले सडकको शून्य बिन्दुबाट नै सडकलाई फराकिलो बनाउँदै ग्रेड र घुम्तीलाई सुधार गर्दै सडकलाई स्तरोन्नति गर्न आग्रह गर्दै आगामी वर्षसमेत यस योजनामा थप बजेटको लागि पहल गर्ने बताए।

प्रकाशित: Sep 28, 2023| 22:29 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्