काठमाडौं–चितवनको देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन्। आज बिहान ७ बजे देवघाटमा नुहाउने क्रममा भारत आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगर–३ मिलनचोक बस्दै आएका पंकज दाहाल बेपत्ता भएका हुन्।
अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर संस्कृत पढ्दै आएका थिए। उनी सोही मन्दिरको टोलीसँगै देवघाटमा भ्रमणमा थिए।
बेपत्ता दुवै जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाट पवित्र तीर्थस्थल हो।
दुवै जना देवघाटस्थित नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनमा प्रहरीसहितको टोलीले बेपत्ता दुवै जनालाई खोजिरहेको उनले जानकारी दिए।