काठमाडौं– ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन्। आज बिहान पाथीभरा याङ्वरक–३ तिरिंगेको भित्री सडकमा मे१ज२१८६ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित १३ यात्रु घाइते ताप्लेजुङ प्रहरीले जनाएको हो।
तिरिंगेदेखि पाथीभरा दर्शनमा जाने तीर्थयात्री बोकेको जिप बिहान ४ः३० बजे दुर्घटनामा परेको हो। कच्ची सडकबाट जिप अचानक चिप्लिएर करिब ७० मिटर तल झरेर दुर्घटनाग्रस्त भएको ताप्लेजुङका प्रहरी प्रमुख नायब उपरीक्षक राजन लिम्बूले बताए।
जिप दुर्घटनाका घाइतेमध्ये ७० वर्षीया धनबहादुर डाँगीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ। घाइते हुनेमा जिप चालक २१ वर्षीय भक्त कार्की, ६२ वर्षीया फूलमाया बस्नेत, ३५ वर्षीया निर्मला बस्नेत, २२ वर्षीय कर्णबहादुर भट्टराई, ३० वर्षीया विमला डाँगी बस्नेत रहेका छन्।
दुई बालिका ६ वर्षीया युनिसा बस्नेत, चार वर्षीया स्वस्तिका बस्नेत, ४१ वर्षीया ललिता भट्टराई, २२ वर्षीय कुमार भट्टराई, ३७ वर्षीय मानबहादुर बस्नेत, ३८ वर्षीय चन्द्रबहादुर कार्की र ४१ वर्षीय कर्णबहादुर कार्की घाइते भएको प्रहरीले जनाएको छ।