आइतबार, जेठ २४, २०८३

लुकेन अपराध

प्रेमिकाको हत्या गरेर विदेशिएका मिजारलाई ६ वर्षपछि हत्कडी

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

धादिङ प्रहरीले ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। २०७४ असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका-९ टायल घरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगरपालिका-५ की ३२ वर्षीया ललिता कुमारी रामको शव सडेगलेको अवस्थामा भेटिएको थियो।

National life

उनको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको बोदेबसाइन नगरपालिका-८ काचनका ३५ वर्षीय अरूण कुमार मिजारलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ललिताको मोबाइल र अन्य विभिन्न कोणबाट अनुसन्धान गर्दा ललिता र अरूणबीच प्रेम सम्बन्ध रहेको त्यतिबेलैको अनुसन्धानमा खुलेको थियो।

प्रेम सम्बन्धमा रहँदा ललिता गर्भवती भएकी थिइन्। ललिताको साथबाट बरामद भएको मोबाइलबाट अनुसन्धान गर्दा उनले आफू गर्भवती भएको बारेमा कुमारलाई बताउँदै विवाहका लागि आग्रह गरेको पत्ता लागेको थियो।
तर, विभिन्न बहाना देखाएर विवाहबाट पन्छिरहेका अरूण ललिताको हत्या गर्ने निष्कर्षमा पुगेको प्रहरीको भनाइ छ।

ललिता स्टाफ नर्सको अध्ययन सकेर बसेकी थिइन् र कामको खोजीमा थिइन्। अरूणले काठमाडौंको कुनै अस्पतालमा काम लगाइदिने भन्दै बोलाएका थिए। ०७४ भदौ २१ गते विराटनगरबाट काठमाडौं आएकी ललिताको हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर अरूण फरार भएका थिए। ६ वर्षपछि पक्राउ परेका उनी आफैंले ललिताको हत्या गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको अनुसन्धान चलिरहँदा असोज ३१ गते अरूण दुबई फरार भएका थिए। त्यतिबेलासम्म प्रहरीले हत्याराको क्लू नभेट्टाएका कारण उनी भाग्न सफल भएका थिए। पछि विभिन्न कोणबाट अनुसन्धान गरेपछि मात्रै अरूणले नै ललिताको हत्या गरेको निष्कर्षमा पुगेपछि पुस २१ गते ललिताको परिवारले उनीविरूद्ध किटानी जाहेरी दिएका थिए।

Shivam cement

उनी यूएई, मलेसिया लगायत विभिन्न देशमा लुकिछिपी बस्दै आएकोमा केही समयअघि नेपाल फर्किएको सूचना प्राप्त भएपछि बागमती प्रदेश प्रहरी कार्यालयको सहयोगमा उनलाई सप्तरीस्थित घरबाटै पक्राउ गरिएको हो। शुक्रबार पक्राउ परेका उनीविरूद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रकाशित: Sep 25, 2023| 15:17 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्