मंगलबार, फागुन २६, २०८२

गर्भवती र सुत्केरीलाई 'आफैँ पाल्दै आफैँ खाँदै' कार्यक्रम

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन भइरहको ‘आफैँ पाल्दै आफैँ खाँदै’ कार्यक्रम प्रभावकारी बनेको छ। गर्भवती तथा सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखेर सो कार्यक्रम सञ्चालनमा आएको थियो।

National life

यो अभियानअन्तर्गत यहाँका सबै छवटै वडाका गर्भवती तथा सुत्केरीलाई एउटा भाले, दुईवटा पोथी कुखुरा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। यसरी वितरण गरिएको कुखुरालाई पालेर उनीहरूले आवश्यकरूपमा अण्डा, मासुको रूपमा प्रयोग गर्न सक्ने उनको भनाइ छ।

यसअघिको सुत्केरीका लागि रहेको रातोभाले कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०८०–८१ बाट यो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए। 

उनले गाउँपालिकाभित्र घरमै सुत्केरी हुने चलनलाई शून्यमा झारिएको बताए। नियमितरूपमा गर्भ परीक्षण गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहन गर्दै आएको उनको भनाइ छ।

यो कार्यक्रमअन्तर्गत वर्षमा दुईपटक वितरण गरिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्। सबै वडामा पहिलो चरणको वितरणको काम अन्तिम भएको उपाध्यक्ष राईले जानकारी दिइन्। यसरी वितरण गरिएको पोथी भने उनीहरूले दुई वर्षसम्म पाल्नुपर्ने उहाँको भनाइ छ।

Laxmi sunrise bank
kumari

यो कार्यक्रमअन्तर्गत पौवादुङमा–१ श्यामशिलाका १७ गर्भवती तथा सुत्केरीलाई एक भाले र दुईवटा पोथी वितरण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए। उनीहरूलाई वडा कार्यालयमा बोलाएर स्वास्थ्य परीक्षणसँगै कुखुरा वितरण गरिएको उनको भनाइ छ।

गाउँपालिकाले सञ्चालन गरेको आफैँ पाल्दै खाँदै कार्यक्रमले सहज भएको स्थानीय महिला रमिला तामाङले बताइन्।

प्रकाशित: Sep 24, 2023| 22:28 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्