शुक्रबार, वैशाख २६, २०८२

हत्या गरेर भारत फरार चक्रबहादुर ३४ वर्षपछि समातिए

 |  आइतबार, असोज ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

vianetvianet

भोजपुरमा ३४ वर्षअघि एक पुरूषको हत्या गरी भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार कर्तव्य ज्यान मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

triton college

भोजपुरको साविक दोभाने गाविस-८ घर भएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। घटना हुँदा २७ वर्षका राई अहिले ६७ वर्षका भए। उनले २०४६ कात्तिक १७ गते २७ वर्षीय बद्रीकुमार राईको हत्या गरेको आरोप छ। बद्रीकुमार वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेका थिए। चक्रबहादुरसहित चार जनाको समूह उक्त घरमा पसेका थिए।

चक्रबहादुरले घरेलु हतियारले बद्रीकुमारका विभिन्न अंगमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ। गम्भीर घाइते बनाएपछि उनीहरूले बायाँ हातसमेत छिनाएर लगेका थिए। बद्रीकुमारलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।

त्यसयता चक्रबहादुरसहितको समूह फरार थियो। मृतकका परिवारले चक्रबहादुरसहित चार जनाविरूद्ध जाहेरी दिएका थिए। अनुसन्धान हुँदा २०६० जेठ २७ गते जिल्ला अदालतले उनीहरूलाई सर्वस्वसहित जन्म कैद सजाय ठहर गरेको थियो।

अदालतको आदेश आउँदा पनि उनीहरु फरार नै थिए। घटना भएपछि आफू लामो समय भारतमा लुकेर बसेको चक्रबहादुरले प्रहरीसमक्ष बताएका छन्। उनको परिवार पनि भोजपुरबाट बसाइँ सरेर सुनसरीस्थित इटहरी उपमहानगरपालिका-२० तरहरामा बस्न थालेका थिए। चक्रबहादुर पनि घटना सेलाएको हुन सक्ने र परिवार बस्ने ठाउँ पनि फरक भएकाले केही वर्षअघि नेपाल फर्किएका थिए।

National life insurance

घर फर्किएर उनले सुँगुर पालनको व्यवसाय थालेका थिए। त्यसैबीच प्रहरीले सुराकीको आधारमा उनलाई शुक्रबार पक्राउ गरेको हो। यसबारे प्रहरीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। चक्रबहादुरले आफूहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले यही घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको छ। प्रहरीले चक्रबहादुरलाई सजाय कार्यान्वयनको लागि आइतबार जिल्ला अदालत भोजपुरमा पेश गर्ने तयारी गरेको छ।

प्रकाशित: Sep 24, 2023| 12:10 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्