आइतबार, जेठ २४, २०८३

दुई महिनामै जंगली जनावरको आक्रमणबाट चार जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट दुई, गैंडाको आक्रमणबाट एक र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो।
 |  शुक्रबार, असोज ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ५, २०८०

चितवन– चालू आर्थिक वर्षको दुई महिनामा जंगली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैंडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो।

National life

माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो। भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए।

सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परी मृत्यु भएको थियो। यस्तै, रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको उनले बताए।

सूचना अधिकारी तिवारीले सोही समयमा निकुञ्जभित्र चार वटा गैँडा मृत भेटिएका जानकारी दिए। यसमध्ये एउटा चोरी सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणबाट मरेका हुन्। मृत भेटिएका गैंडामध्ये दुईवटा भाले रहेका छन् भने दुईटाको पहिचान हुन नसकेको उनले बताए।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म निकुञ्जमा २०४ वटा गैँडा मरेका छन्। तीमध्ये १०२ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुन सकेको छैन। अहिलेसम्म मरेका गैँडामध्ये बूढो भएर र भीरबाट लडेर ६८, दलदलमा परेर र बाढीले बगाएर १९, आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ रहेका छन्।

Shivam cement

यस्तै, सम्भावित चोरी सिकारीले सात वटा, विद्युतीय करेन्ट लागेर सात वटा, बिरामी भएर ११ , खाडलमा परी तीन वटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेको २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिए।–रासस

प्रकाशित: Sep 22, 2023| 11:59 शुक्रबार, असोज ५, २०८०
प्रतिक्रिया दिनुहोस्