नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकका माग सम्बोधन गर्ने बताएका छन्। पार्टी मुख्यालय सोनपामा जारी केन्द्रीय समिति बैठकमा उनले सरकारले पहिला गरेको सहमतिबाट पछि नहट्ने बताए।
उनले भने, 'सहमति भएको बुँदाबाट सरकार पछाडि हट्दैन। तत्काल अर्थतन्त्रले धान्न नसक्ने कुरा र संविधानले शिक्षाबारेमा बन्दोबस्त गरेको प्रतिकूल हुने कुरा हुन सक्दैन। उप्रधानमन्त्री तथा गृहमन्त्रीको नेतृत्वमा वार्ता सुरु भएको छ। समाधान हुन्छ। यो बाटोमा सरकारले अग्रसरता लिएको छ,’ उनले बैठकमा भने।
१८ बुँदे माग राखेर शिक्षक आन्दोलित छन्। सरकारले एक साताअघि संसद्मा प्रस्तुत गरेको नयाँ शिक्षा विधेयकमा समेटिएका बुँदाप्रति असहमति जनाउँदै विभिन्न राजनीतिक दलमा आबद्ध शिक्षकको संस्था नेपाल शिक्षक महासंघले हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेपछि मुलुकभरका २७ हजार ३४३ सामुदायिक विद्यालयमा अध्ययनरत करिब ७० लाख विद्यार्थीको पढाइ प्रत्यक्ष प्रभावित भएको छ।
महासंघले नयाँ विधेयकमा समेटिएका राजनीतिमुक्त विद्यालय क्षेत्र, प्राथमिक, माध्यमिक तहमा स्नातक, स्नातकोत्तर, राजनीति गर्न पाउनुपर्ने, विद्यालय व्यवस्थापनमा राजनीतिक पार्टीका मान्छे राख्नुपर्ने, हाल कार्यरत, अस्थायी, राहत शिक्षकलाई सीधै स्थायी गर्नुपर्नेलगायत माग राखेर काठमाडौं केन्द्रित आन्दोलन थालेको हो।