प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबारदेखि एक साता चीनको भ्रमण गर्ने औपचारिक घोषणासहित कार्यक्रम तालिका सार्वजनिक भएको छ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी भ्रमणको तालिका सार्वजिनक गरेको हो। चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्ने तय भएको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि रहनेछन्। राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुको समेत सहभागिता रहनेछ।
राष्ट्रपति सीसँग दाहालको हाङझाउमै भेट हुनेछ। उनले बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन्। प्रधानमन्त्रीले चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् (सीसीपीआईटी), नेपालको उद्यो वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको 'चीन–नेपाल लगानी सम्मेलन'लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री दाहाल सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। उनले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ। दाहालले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन्।
प्रधानमन्त्री ३० सेप्टेम्बरमा स्वदेश फर्कनेछन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन हाल अमेरिकाको न्युयोर्क पुगेका दाहाल त्यतैबाट चीन जानेछन्।