काठमाडौं– सर्लाहीको लालबन्दी नगरपालिका–५ स्थित शान्ति टोलमा रहेको एक घरमा गए राती २ बजे हतियारधारी समूहले लुटपाट मच्चाएको छ। हतियारसहित लुट्न आएको समूहको प्रतिकार गर्दा घरधनी रामचन्द्र ठाकुर घाइते भएका छन्।
मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको हतियारधारी समूहले ठाकुरको घरबाट नगद र केही जिन्सी सामग्री लुटेको प्रहरीले बताएको छ। लुटेरा समूहको प्रतिकार गर्दा घाइते भएका घरधनी ठाकुरको टाउकोमा चक्कु प्रहार भएको बताइन्छ।
घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको छ। ठाकुर केही दिनअघि मात्रै विदेश रोजगारीबाट फर्किएका सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले बताए।
लुटपाटमा संलग्नको खोजी जारी रहेको उनको भनाइ छ। घटनास्थलबाट एक थान नल कटुवा पेस्तोल बरामद भएको छ।