आइतबार, जेठ २४, २०८३

अरुण तेस्रो जलविद्युत परियोजनाको काम ठप्प

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

सङ्खुवासभा- सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प भएको छ।

National life

अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन्।

स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युतगृहस्थल र प्रवेशमार्गको काम ठप्प छ। अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले माग सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रिनुपरेको बताए।

स्थानीयले प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा माग गर्दै आएका छन्। छ्याङकुटीबाट पुखुवासम्म चार सय ५४ रोपनी जग्गाको मुआब्जा प्राप्त गर्न बाँकी छ। मुआब्जा रकम जिल्ला प्रशासन कार्यालयको खातामा नआएसम्म आन्दोलन जारी रहने पीडितको भनाइ छ।

उनीहरू मुआब्जा माग गर्दै विगत सात वर्षदेखि आन्दोलित छन्। अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत् निगमसँगको आयोजना विकास सम्झौता (पीडीए)मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक आठ करोड नेपाल सरकारले क्षतिपूर्ति बेहोर्नुपर्ने सर्त उल्लेख छ।

Shivam cement

जिल्ला प्रशासन कार्यालयमा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो। तर हालसम्म प्रभावितले मुआब्जा पाएका छैनन्।

आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउने बताइएको छ। आयोजना बनाउन एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ। अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन्।

प्रकाशित: Sep 20, 2023| 21:21 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्