विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको गाडी जलाएका छन्। विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरूले आज बिहानै पनिका कोशी प्रादेशिक कार्यालयको बा १७ च ८२३८ नम्बरको गाडी जलाएका हुन्।
सो क्याम्पसमा मानविकी संकायमा अध्ययनरत एक जना छात्राको २०७८ मंसिरमा लिएको परीक्षाको उत्तरपुस्तिका साटफेर विषयमा विद्यार्थी आन्दोलनमा छन्। तिनै विद्यार्थीले पनिकाको गाडीमा आगजनी गरेका हुन्।
ती छात्राको अंग्रेजी पुस्तिका साटफेर भएको विद्यार्थी संगठनहरुको आरोप छ। उनको उत्तरपुस्तिका परीक्षामा गार्ड बसेका राजन दत्तले आफ्नी छोरीको उत्तर पुस्तिकासँग साटेको बताइएको छ। उत्तरपुस्तिका साटिएपछि ती छात्रा फेल भएको आन्दोलनरत विद्यार्थीहरूको भनाइ छ।
क्याम्पस प्रशासनले ती छात्रालाई पुनः परीक्षा दिन लगाएको थियो तर त्यसको नतिजा प्रकाशन भएको छैन। हिजोमात्रै विद्यार्थीहरुले क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र त्रिविका सहायक परीक्षा नियन्त्रक डिल्ली प्रसाईंलाई क्याम्पसको कार्यालयभित्रै थुनेका थिए। उनीहरुको राति १ बजे उद्धार भएको थियो।