आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बङ्गलादेशमा २४ घण्टाको अवधिमा ३ हजारभन्दा धेरै डेंगुका बिरामी फेला

बङ्गलादेशमा २४ घण्टाको अवधिमा ३ हजारभन्दा धेरै डेंगुका बिरामी फेला

 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

ढाका- बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा ३ हजार १२२ जना नयाँ डेङ्गुका बिरामी फेला परेका छन्। यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो सङ्ख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ।

National life

प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ८२२ पुगेको छ। ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा डेङ्गुका बाँकी बिरामी भर्ना भएका छन्।

ढाकामा चार हजार ६६ सहित १० हजार ४३७ डेङ्गुका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन्। यस वर्ष अहिलेसम्म एक लाख ६७ हजार ६८४ जनामा डेङ्गु को सङ्क्रमण देखिएको छ भने निको हुनेको सङ्ख्या एक लाख ५६ हजार ४२५ पुगेको छ।

यद्यपि, यो महिना मृत्यु हुनेको सङ्ख्या २२९ पुगिसकेको छ र भेक्टरजनित रोग अनियन्त्रित रूपमा फैलिरहेको छ। बङ्गलादेशमा सन् २०२२ मा डेङ्गुका कारण २८१ जनाको मृत्यु भएको थियो। सन् २०१९ मा १७९ जनाको मृत्यु भएको र यो बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै १०० सङ्ख्याले बढी भएको हो। सन् २०२२ मा बङ्गलादेशमा ६२ हजार ४२३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने ६१ हजार ९७१ जना निको भएका थिए।

Shivam cement

यसैबीच युनिसेफले बङ्गलादेशलाई डेङ्गुको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय निकायले छिट्टै स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा अन्य महत्वपूर्ण आपूर्ति र सेवाहरूका साथै तत्काल आवश्यक परीक्षण किटहरू र स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्नेछ। बङ्गलादेशको ६४ जिल्लामा अहिले डेङ्गुको प्रकोप फैलिसकेको छ।

प्रकाशित: Sep 18, 2023| 21:31 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्