शनिबार, असार १४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रिसइबी भएकालाई खुकुरी हान्दा देख्नेहरु पनि मारिएको प्रहरी निष्कर्ष

गैरीगाउँ सामूहिक हत्या:

रिसइबी भएकालाई खुकुरी हान्दा देख्नेहरु पनि मारिएको प्रहरी निष्कर्ष

प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या प्रकरण रिसइबी र प्रतिशोधले भएको पाइएको हो।
 |  सोमबार, असोज १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

vianetvianet

काठमाडौं– काठमाडौं महानगर–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य सःमिलमा भएको चार जनाको हत्या प्रकरण सामान्य निहुँमा भएको प्रहरीले निष्कर्ष निकालेको छ। प्रहरीद्वारा गठित छानबिन समितिका अनुसार एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या प्रकरण रिसइबी र प्रतिशोधले भएको पाइएको हो।

विगतमा मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसिइबी साँध्दा उक्त घटना भएको उक्त छानबिन समितिका संयोजक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको काँडाघारी बस्ने २३ वर्षका सञ्जय भण्डारी एक्लैले हत्या गरेको समितिको निष्कर्ष छ। उनले सुरुमा मोरङका विशाल राईको हत्या गरेका र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरुको पनि हत्या गरेको स्वीकारेको राठौरको भनाइ छ। 

विगतमा हाल हत्या गरिएका विशाल राईले चलाएको मोटरसाइकलले ठक्कर दिँदा विवाद हुन गई राईले प्रतिवादी भण्डारीलाई कुटपिट गरेकामा सोही रिसइबी÷प्रतिशोधका कारण हत्या गरेको पाइएको पनि उनले जानकारी दिए।

उनको साथबाट घटनाको दिन बोकेको झोला र सोही झोलामा रहेको खुकुरी बरामद गरिएको छ। उनलाई पक्राउ गर्दा घटना घटाउँदा लगाएको कपडै लगाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

 यसरी भएको थियो घटना

भण्डारीले गत २९ भदौमा विशाल राईलाई सिध्याइदिन्छु भन्दै आफू बस्ने गरेको दिदीको कोठाबाट उक्त खुकुरी झोलामा हाली पछाडिपट्टिको बन्द गेटबाट माथि चढेर सःमिल प्रवेश गरेका थिए। त्यसपछि राई बस्ने कोठामा गई हेर्दा नदेखेपछि कोठाको सोफामा बसे।

केही समयपछि विशाल राई आएर विवाद भई कुटपिट गरेपछि भण्डारीले खुकुरीले हानेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। उक्त घटना हुँदा शुभद्रा भुजेलले देखेपछि कराएको थाहा पाएर भण्डारीले घटना बाहिर ल्याउने डरले शुभद्राको पनि हत्या गरेको र सोही समय पूर्णबहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेजस्तो देखेपछि उनलाई र त्यही बेलै आइपुगेकी उनकी श्रीमती अम्बिकाको पनि हत्या गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारी सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौंमा अध्ययन गरेको खुल्न आएको छ। सो घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषाविज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफूले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनापछि सोही घरमा रहेका दीपन्द्र राईले देखेपछि उनी प्रहरीलाई खबर गर्न जाने क्रममा ट्याक्सी चढ्न लाग्दा प्रहरी घटनास्थलमा पुगेको थियो। रगत लत्पतिएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानमा उनी निर्दाेष देखिएको राठौरले बताए।

गत २९ भदौ राती १२ बजे उक्त घटना भएको थियो। काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँस्थित दिव्य सःमिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो। 

उक्त हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले राठौरकै नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो। सोही समितिले घटनाको सफल अनुसन्धान गरेको हो।

प्रकाशित: Sep 18, 2023| 11:58 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्