मंगलबार, फागुन २६, २०८२

विद्यालयलाई वडाध्यक्षको साढे तीन लाख सहयोग

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईको परिवारले स्वर्गीय बुबाआमाको स्मृतिमा खार्मीस्थित कालिका माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन्।

National life

निजी स्रोतमा गत वर्षदेखि कक्षा ११ र १२ सञ्चालनमा ल्याइएको विद्यालयमा वडाध्यक्ष राईको परिवारले बुबा किल्लबहादुर राई र आमा अमृतशोभा राईको स्मृतिमा तीन लाख ५० हजार सहयोग गरेको हो। उक्त सहयोग रकम पाठ्यपुस्तक खरिद, शिक्षकका लागि तलब तथा शैक्षिकस्तर सुधारमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर श्रेष्ठले बताए।

“कक्षा १२ सम्म सञ्चालित विद्यालयमा अहिले तीन सय सात विद्यार्थी अध्ययनरत छन्। एसइईको ग्रेड वृद्धिको नतिजा आएपछि कक्षा ११ मा विद्यार्थी थपिने अनुमान गरिएको छ”, त्यस विद्यालयका पूर्वशिक्षकसमेत रहेका अध्यक्ष श्रेष्ठले भने, “निजी स्रोतबाट कक्षा ११ र १२ सञ्चालित विद्यालयमा उक्त सहयोग महत्वपूर्ण हुनेछ। यो सहयोग अभिलेखीकरण गरिनेछ।” 

वडाध्यक्ष राईका दाजु भलबहादुर राईलगायत परिवारको सदस्यबाट सङ्कलित रकमको चेक वडाध्यक्ष राईले प्रधानाध्यापक प्रकाश राई र कक्षा–११ र १२ सञ्चालनार्थ गठन गरिएको आर्थिक सङ्कलन समितिका संयोजक कृष्णकिशोर राईलाई हस्तान्तरण गरे।

विसं २००९ मा स्थापना भएको त्यस विद्यालयमा कक्षा ११ र १२ सञ्चालनका अभिभावक र देश  तथा विदेशमा रहेका शुभचिन्तकबाट चन्दा सङ्कलन गर्ने काम भइरहेको छ। विद्यालयका लागि गतवर्ष खार्मीस्थित तुर्खाका स्थानीय बासिन्दा एवम् भारतमा कार्यरत योग गुरु नरेन्द्र श्रेष्ठले एक लाखको पाठ्यपुस्तक उपलब्ध गराएका थिए।

Laxmi sunrise bank
kumari

यसअघि साविक खार्मी गाउँ विकास समितिका पूर्वगाविस अध्यक्ष एवम् वामपन्थी नेता बलराम राईले एक लाख एक हजार तथा विद्यालयका पूर्व प्रधानाध्यापकद्वय कृष्णकिशोर राई र उपेन्द्र श्रेष्ठले एक–एक लाख तथा विव्यास अध्यक्ष क्षेष्ठले एक लाख सहयोग गरेका थिए।

विद्यालयमा कार्यरत सबै शिक्षकले एक एक महिनाको तलब सहयोग गरेर कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा विवाहित महिलालाई २० प्रतिशत छुट दिने व्यवस्था छ। विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीका लागि पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने भएको छ।
 

प्रकाशित: Sep 17, 2023| 05:25 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्