काठमाडौंको तीनकुने गैरीगाउँमा शुक्रबार राति एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई छन्।
उनी मध्य रातमा ट्याक्सी चढेर प्रहरीलाई घटनाबारे खबर गर्न पुगेका थिए। बानेश्वर प्रहरी पुगेका उनलाई त्यही बेला नियन्त्रणमा लिइएको हो। उनको कपडा र जुत्तामा रगत भेटिएको थियो।
काठ मिलभित्र हत्या गरिएको अवस्थामा चार जनाको शव फेला परेको हो। मृतकहरुमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल छन्।
काठ मिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए भने आमा शुभद्रा केही दिनअघि श्राद्ध गर्न भनेर काठमाडौं आएकी थिइन्। उनी हिजो मात्र छोराकोमा आएको पाइएको छ।
हत्या गरिएका २० वर्षीय नविन राई भने मोरङका हुन्। उनी भने त्यहाँका कामदार नभएको पाइएको छ।
शंकाको सुई उनैतिर
लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा दीपेन्द्र प्रहरी चौकी पुगेका थिए। घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्याइदिन भनेका थिए।
प्रहरीले राईलाई पुर्याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ। चालकले रगत लतपतिएको कपडासहित आएका राईले हडबडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्याइदिन भनेको बताएका छन्।
प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्यले सोही काठ मिलमा लामो समय काम गरेर छोडेको खुलेको छ। बुबाले काम गर्ने भएकोले पहिलेदेखि नै नवीन त्यहाँ आउजाउ गर्थे। हत्या भएका नवीन राई उनका साथीसमेत हुन्। बुबाले काम गर्ने बेला उनी त्यहीँ बस्ने पनि गरेका थिए। राईका बुबा दिव्य अहिले धनकुटामा छन्।
प्रहरीले दीपेन्द्र नै हत्यामा संलग्न रहेको आशंका गरेको छ। हत्याको कारण भने स्पष्ट भइसकेको छैन।