काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य स: मिलमा धारिलो हतियार प्रयोग गरी चार जनाको हत्या भएको छ।
काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
काठ मिलमा गार्डका रूपमा कार्यररत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो। अन्दाजी ५५ वर्षका कुमार भुजेलकी श्रीमती अम्बिका भुजेल र ७६ वर्षकी आमा सुभद्रा भुजेलको समेत हत्या भएको छ। उनीहरू दोलखाका स्थायी बासिन्दा हुन्।
त्यस्तै मोरङको बेलबारीका अन्दाजी २० वर्षीय नवीन राईको पनि हत्या भएको छ। मृतक सबैको टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको प्रहरीको भनाइ छ।
घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटना शुक्रबार मध्य रातिको हो।
शनिबार बिहान घटनास्थलको मुचुल्का उठाई शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ।