काठमाडौं- चीनमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका राजनीतिज्ञहरु अचानक 'सार्वजनिक जीवन'मा नदेखिनुलाई अस्वाभाविक रुपमा हेर्न थालिएको छ। उनीहरु सार्वजनिक जीवनबाट एकाएक टाढिएको विषयलाई पनि सार्वजनिक गरिँदैन।
बीबीसीका अनुसार चिनियाँ विदेशमन्त्री सार्वजनिक जीवनमा नदेखिएको एक महिनापछि पदमुक्त गरिएको दुई महिना नपुग्दै फेरि चिनियाँ रक्षामन्त्री लि साङ फु दुई सातादेखि सार्वजनिक रुपमा देखिएका छैनन्। एक अमेरिकी कूटनीतिज्ञले चिनियाँ रक्षामन्त्रीको अनुपस्थितिलाई 'सम्भावित भ्रष्टाचारको मुद्दा'मा कारबाही गरिएको आशंका गरेका छन्। उनी वितग दुई सातादेखि महत्वपूर्ण बैठकहरुमा समेत देखिएका छैनन्।
जापानका लागि अमेरिकी कूटनीतिज्ञ रहम् इमानुयलले महत्वपूर्ण सैन्य बैठकहरुमा पनि चिनियाँ रक्षामन्त्री नदेखिनु गम्भीर भएको बताएका छन्। धेरै चिनियाँ सैन्य अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएसँगै रक्षामन्त्री पनि सार्वजनिक रुपमा नदेखिएका हुन्।
अमेरिका र चिनियाँ स्रोतहरुलाई उदृत गर्दै वाल स्ट्रिट जर्नलले रक्षामन्त्री लिलाई शुक्रबार पदमुक्त गरिएको रिपोर्ट गरेको छ। रक्षामन्त्री लिको 'सार्वजनिक अनुपस्थिति' को बारेमा पनि चिनियाँ सरकारले कुनै प्रतिक्रिया दिएको छैन। गत साता चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले 'रक्षामन्त्रीको अवस्थाबारे जानकार नभएको' बताएकी थिइन्।
चिनियाँ रक्षामन्त्री लि गत २९ अगस्टमा बेइजिङमा भएको अफ्रिकी मुलुसँगको सुरक्षा फोरमको बैठकमा सहभागी भएका थिए। त्यसयता उनी सार्वजनिक रुपमा देखिएका छैनन्। ली चीनको एयरोस्पेस इन्जिनियरको रुपमा चीनको स्याटेलाइट र रकेट सेन्टरबाट सुरु गरेको सैन्य करिअरबाट रक्षामन्त्रीसम्म बनेका हुन्।
पूर्व विदेशमन्त्रीजस्तै छिन साङजस्तै लीलाई पनि राष्ट्रपति सी जिनपिङको विश्वासपात्रको रुपमा हेरिएको थियो। सैन्य भ्रष्टाचार शुद्धीकरणको अभियान पहिलो पटक अगस्टको सुरुमा लन्च गरिएपछि चीनको रकेट फोर्समा दुई जनरलहरूलाई प्रतिस्थापन गरिएको थियो। भ्रष्टाचार मुद्दामा नै सेनाको सैनिक अदालतका अध्यक्षलाई पनि नियुक्ति भएको महिनौंपछि हटाइएको थियो।
जनरल ली भियतनाम भ्रमण अचानक छोट्याएर फर्किएका थिए भने हालै सिंगापुरको नौसेना प्रमुखसँग बेइजिङको बैठकमा जनरल ली उपस्थित भएनन्। भियतनामी अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सको एक रिपोर्टले ली गत हप्ता भियतनामी रक्षा नेताहरूसँगको बैठकबाट अचानक बाहिरिएको र जसलाई चिनियाँ जनरलको 'स्वास्थ्य अवस्था' मा समस्या भएको बताइएको थियो।
सिंगापुरका नौसेना प्रमुख सेन वाटले गत हप्ता चीनको भ्रमण गरेका थिए र सैन्य अधिकारीहरूसँग भेटेका थिए। ली व्यापक रूपमा भ्रष्टाचार शुद्धीकरणसँग जोडिएको र उनलाई पदमुक्त गरिएको अनुमानहरु भइरहेका छन्। यद्पि यसको पुष्टि हुन भने सकेको छैन।
चीनले आफ्ना राजनीतिज्ञहरुको अवस्थाबारे लुकाउने गरेको छ। गत जुलाईमा पदमुक्त गरिएका तत्कालीन विदेशमन्त्री छिनको बारेमा पनि चीनले कुनै कुरा खुलाएको छैन।