सोमबार, जेठ २५, २०८३

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर

 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो। जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो।

National life

चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै थिए। जाजकोटबाट पहिराले लखेटिएका बुढाको परिवारलाई प्राकृतिक विपत्तिले यहाँ पनि दुःख दिइरहेको छ। विसं २०४० मा महाकालीमा आएको भीषण बाढीले बुढाको घरखेत, अन्नपात सबै बगायो।

“सात दिनरात ठूलो बाढी आएको थियो, अन्नपात जमिन सबै लग्यो, धौधौ ज्यान जोगायौँ”, ४० वर्षअघिको बाढी सम्झदै बुढा भन्छन्, “त्यति बेलादेखिको कटान, बाढीको समस्या अझै समाधान भएको छैन।”

वर्षौंदेखि बाढीको समस्या झेल्दै आएका बुढालाई कुतियाकबरबाट पनि विस्थापित हुनुपर्ने होकि भन्ने चिन्ताले सताउन थालेको छ। बाढीले बर्सेनि जमिन कटान गरिरहेको छ। “अब खेतीपातीका लागि जमिन छैन, नेपाल–भारत सीमा नजिक दशगजा क्षेत्रमा एक कट्ठा जमिनमा घर मात्रै बाँकी छ”, उनले भने, “यस्तै रह्यो भने यहाँ कसरी बस्ने ? फेरि विस्थापित हुनुपर्ने अवस्थामा आइसक्यो।” बुढा हाल भाडामा जमिन लिएर खेतीपाती गर्दै आएका छन्।

बुढाजस्तै भारतीय नागरिक कार्तिक मण्डलको पनि समस्या छ। कुतियाकबर पारी भारतीय बस्ती नौजलियाका मण्डलसँग पनि खेतीका लागि जमिन छैन। बसोबासका लागि एउटा सानो झुप्रो मात्रै छ। उनी वर्षौंदेखि कुतियाकबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। महाकाली नदीले जमिन कटान गरेर बगर बनाएको उनको भनाइ छ।

Shivam cement

“दुई एकड जमिन लिजमा लिएको थिएँ, महाकालीले बगाएर आधा मात्रै बाँकी छ”, उनले भने, “जोगबुढा र महाकाली नदीले यहाँको खेतीयोग्य जमिनलाई बगर बनाउँदैछ।”

कुतियाकबरकै लालबहादुर खड्काको पनि करिब तीन बिघा जमिन महाकालीले बगायो। उनी डोटीबाट दशकअघि कुतियाकबर झरेका थियो। “सुरुआतमा यहाँ जंगल थियो, राजाले बस्ती खोलेपछि बुवा जङ्गल फाडेर बस्नुभएको हो”, लालबहादुर सुनाउँछन्, “डेढ÷दुई बिघा जोगबुढा नदीले लग्यो, त्यतिकै महाकालीले पनि।” जोगबुढा र महाकाली नदीको बाढीले कुतियाकबरका सयौँ परिवारको उठीबास भएको छ। कुतियाकबरको उर्वराभूमि बाढीले बगरमा परिणत भइरहेको छ।

विसं २०२४ देखि कुतियाकबरमा मानव बस्ती विकास भएको थियो। त्यसबेला करिब एक सयभन्दा बढी परिवार कुतियाकबरमा बस्थे। अहिले बाढीकै कारण विस्थापित भएर ४२ परिवारमात्रै छन्। यो नेपालको पश्चिमी दक्षिणी अन्तिम सीमा हो। सदरमुकामबाट टाढा रहेको यस भूभागका स्थानीयले राज्य भएको अनुभूति गर्न नपाएको गुनासो गरिरहनछन्।

जोगबुढा र महाकाली नदीले घेरिएको यो टापुका बासिन्दालाई बर्सेनि बाढीले सताउने गरेको छ। सयौँ बिघा खेतीयोग्य जमिन बगर बनिसकेको छ। बर्खायाम लागेसँगै कुतियाकबरका बासिन्दा त्रसित हुन्छन्। महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन्, उनीहरू।

पानी परेको रात जाग्राम बस्नुपर्ने यहाँका मानिसको बाध्यता हो। उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ। “बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जाग्राम बसेर नदीमा पानीको बहाव हेरिरहनुपर्छ”, स्थानीय वसन्ती सुनारले भनिन्, “बाढी आयो भने सिधै बस्ती पस्छ, कुन बेला के हुन्छ थाहा छैन, त्रासै त्रासमा बस्नुपरेको छ।”

प्रकाशित: Sep 15, 2023| 20:21 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्