सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारण ठग्ने गिरोह सक्रिय

वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारण ठग्ने गिरोह सक्रिय

सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम ठगी गर्ने गिरोह सक्रिय भइरहेको प्रहरी अनुमान।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं– केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।

National life

गिरोहले त्यहाँ जान प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र वायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे। पीडितले कागजात पठाए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उरीक्षक रवीन्द्र रेग्मीले भने, ‘उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा पैसा मागेको पनि भेटियो।’

उनका अनुसार त्यस घटनामा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद साह संलग्न भएको पाइयो । उनीहरु अहिले कानुनी कारबाहीको दायरामा छन्। दुई दिनअघि मात्रै क्यानडा जाने लोभमा पर्दा भूमिराज राईले ११ लाख गुमाए। आफू ठगिएको थाहा पाएपछि परेको उजुरीका आधारमा क्यानडा पठाइदिन्छु भनी झन्डै ११ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी उपरीक्षक रेग्मीका अनुसार सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत मासिक २ लाख तलब हुने लोभ देखाएर ठगी गरिएको थियो। यस्तै घटनापीडित आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी काठमाडौंको सामाखुसी बस्ने ५० वर्षीय केशरी श्रेष्ठ पक्राउ परेकी छन्।

Shivam cement

यी घटना पछिल्ला एक साताका हुन्। यस्ता घटना दिनप्रतिदिन बढिरहेको प्रहरी अभिलेखले देखाएको छ।

सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय भइरहेका छन्। वैदेशिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगी हुने क्रम बढेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मानिस छिटो पैसा कमाउने लोभमा फस्दा लाखौं रकम डुब्ने गरेको पाइएको हो।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायत पछिल्लो समय वैैदेशिक रोजगारीका नाममा दैनिकजसो मानिस ठगिएका घटना देखिएको बताउँछन्। यो क्रम विगतका वर्षभन्दा बढ्दो क्रममा रहेको देखिएको उनको भनाइ छ। 

अनलाइन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी अत्यधिक रुपमा बढिरहँदा त्यतिकै सुरक्षा चुनौती पनि थपिएको प्रहरीको निष्कर्ष छ। यसमा नागरिक आफैं सचेत हुनुपर्ने कडायत सुझाउँछन्।

प्रकाशित: Sep 15, 2023| 15:31 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्