सोमबार, जेठ २५, २०८३

जहाँ तीन वर्षमा ११ सय किशोरी आमा बने

गर्भ जाँच गराउन आउँदा किशोरीको उमेर २० वर्ष कम भए पनि २० वर्ष पुगेको बताउने गरेकाले तथ्यांक कम देखिएको स्वास्थ्यकर्मीले बताएका छन्।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

बैतडी- बैतडीमा अझै पनि बालविवाह हुने क्रम रोकिएको छैन। उमेर नपुग्दै बिहे गर्ने किशोरी २० वर्षमुनि नै आमा बन्ने गरेका छन्। जिल्लामा गएको तीन वर्षको अवधिमा एक हजार एक सय २५ जना किशोरी २० वर्षमुनि नै आमा बनेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

National life

आर्थिक वर्ष २०७७/७८ मा चार सय १५, आवमा २०७८/७९ मा तीन सय ८७ र गत आवमा तीन सय २३ किशोरीले जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको पाइएको कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। उनका अनुसार यो तथ्याङ्क हेर्दा पनि यहाँ बालविवाह हुने क्रम नरोकिएको प्रष्ट हुन्छ।

गर्भ जाँच गराउन आउँदा किशोरीको उमेर २० वर्ष कम भए पनि २० वर्ष पुगेको बताउने गरेकाले तथ्याङ्कमा कम देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। उमेर नपुग्दै बिहे गर्ने र २० वर्षमुनि आमा बन्दा ज्यान नै जोखिममा पर्ने सम्भावना बढी हुने स्वास्थ्यकर्मीको भनाइ थियो। 

स्थानीय तह तथा विभिन्न सरकारी गैरसरकारी सङ्घसस्थाले प्रत्येक वर्ष जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि बालविवाह हुने क्रम नरोकिएको श्रीकोट स्वास्थ्यचौकीकी अनमी सरस्वती भट्टले बताइन्।

२० वर्ष नपुग्दै गरेको विवाहलाई कानुनी मान्यता नपाउने भन्दै उनले पछिल्लो समय घरपरिवारको दबाबमा गरिने विवाहमा केही कमी आए पनि भागी विवाहले बाल न्यूनीकरणमा चुनौती थपिएको उनको भनाइ थियो।

Shivam cement

‘कम उमेरमा गरिएको विवाहले कानुनी मान्यता पाउँदैन भने स्वास्थ्यका हिसाबमा पनि जोखिम हुने  गरेको छ। किशोरावस्थामा सही निर्णय लिन नसक्दा बालविवाहमा कमी नआएको हो’, अनमी भट्टले भने।

नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने नीति लिएको जनाउँदै उनले सोही नीतिअनुसार कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनका अनुसार सरकारको नीतिअनुसार जिल्लामा अझै पनि बालविवाह न्यूनीकरण हुनसकेको छैन। 

शारीरिक र मानसिकरूपमा २० वर्षमाथि मात्रै परिपक्व हुने भन्दै प्रमुख भट्टले त्यो भन्दा मुनि बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि खतरा हुने बताए। उनका अनुसार कम उमेरमा बच्चा जन्मिदा कुपोषित हुने, कम तौलको जन्मिने, रक्तअल्पतालगायतका जोखिम निम्तिने गर्दछन्। 

‘बीस वर्ष नपुग्दासम्म प्रजनन अङ्ग परिपक्व भइसकेका हुँदैनन्। यो उमेर आमा बन्नु बच्चा र आमा दुवैका लागि जोखिम हुन्छ। बच्चा जन्मिहाले पनि कम तौलको हुने, कुपोषित हुनेलगायतका समस्या देखिन्छन्’, प्रमुख भट्टले भने। 

विभिन्न सङ्घसंस्था तथा स्थानीय जनप्रतिनिधिको सक्रियतामा कम उमेरमा हुने विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गरिने भए पनि प्रभावकारिता कम देखिएको उनको भनाइ थियो।

नेपालको कानुनले २० वर्षमुनि गरेको विवाहलाई स्वतः बदर हुने व्यवस्था गरेको छ भने तीन वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ।

बालविवाहको उन्मूलन गर्न विशेषगरी छोरीहरूको सशक्तीकरण गर्नुपर्ने र बालविवाह पुराना परम्परागत संस्कृति र जातीय व्यवस्थासँग जोडिएको विषय भएकाले कुसंस्कार र जातीय व्यवस्थालाई बदल्नुपर्ने दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन्। 

‘बालविवाह न्यूनीकरणका लागि छोरीहरूको सशक्तीकरण र पुराना कुसंस्कार बदल्न आवश्यक छ,’ उनले भनिन्।      -रासस

प्रकाशित: Sep 15, 2023| 08:22 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्