सोमबार, जेठ २५, २०८३

बंगुरको दाना महँगो भएपछि घट्यो नाफा

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

गल्याङ- स्याङ्जाको वालिङ नगरपालिका-१३, का श्यामबहादुर विश्वकर्माले बंगुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो। वैदेशिक रोजगारमा ६ वर्ष बिताएर फर्किएका उनले झलुंगे बजारस्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बंगुर फार्म दर्ता गरी व्यावसाय सुरु गरेका थिए।

National life

कोरोना कहर अघि विश्वकर्माको फार्ममा करिब तीन सय  बंगुरका माउ र पाठापाठी थिए। अहिले भने त्यो संख्या घटेर एक सय वटाको हाराहारीमा बंगुर छन्। मासिक १२ लाख रूपैयाँ मुनाफा कमाउँदै आएका उनको आम्दानी हाल भने क्रमशः घट्दै जान थालेको छ।

उनले व्यावसाय सञ्चालन गरेको चार वर्ष बंगुरपालनबाटै परिवार राम्रोसँग पाल्दै आएका थिए। उनले पछिल्लो समय बंगुरलाई खुवाउने दानामा मूल्यवृद्धि भएकाले व्यवसाय नै धरापमा परेको बताए।

'व्यवसाय सुरु गरेको वर्ष कसरी मासु बिक्री गर्ने भन्ने चिन्ता हुन्थ्यो, एक वर्षपछि प्रचारप्रसार राम्रो भयो र बंगुरका पाठापाठी र मासु पुर्‍याउनै धौ भयो', उनले दुखेसो पोखे, 'अहिले हामी महँगीको मारमा परेका छौँ।'

दानापानीमा लगानी गर्न गाह्रो हुँदै गएको छ, ढुवानी खर्च बढी हुँदा बंगुर निर्यातमासमेत समस्या हुँदै आएको उनले बताए। 'व्यवसाय सुरु गर्दा आठ सयमा किनेको मकै अहिले १७ सय पुगेको छ', किसान विश्वकर्माले भने, 'यस्तै समस्या यथावत् रहेमा व्यवसायबाट पलायन हुने स्थिति नआउला भन्न सकिन्न।'

Shivam cement

'व्यवसाय गरेको करिब चार वर्ष सन्तुष्ट थिएँ, अहिले दानापानीमा भएको मूल्यवृद्धिले व्यवसाय नै छोडौँ कि जस्तो हुन्छ', उनले थपे, 'भन्दा सजिलो जस्तो पेसा देखिए पनि बंगुरलाई दाना पुर्‍याउन गाह्रो हुने रहेछ।' विश्वकर्माले कोरोनाको समय मासुका लागि तयार भएका बंगुरलाई दाना पुर्‍याउन नसक्दा सस्तो मूल्यमा मासु बिक्री गर्न बाध्य भएको स्मरणसमेत गरे।

उनले लगानीअनुसार अन्य पशुपक्षीको तुलनामा बंगुरको मासुको मूल्य उचित नभएको दाबी गरे। 'स्थानीय बजारमा एक किलो खसीको मासुको मूल्य नौ सय रूपैयाँ हुँदा बंगुरको मासुको मूल्य धार्नीको आठ सय रूपैयाँ हुनु किसान मारमा पर्नु हो', विश्वकर्माले भने, 'खसीबोकामा भन्दा बंगुरपालनमा उत्पादन लागत दोबर छ, सरकारले बंगुरको मासुको उचित मूल्य निर्धारण गरिदिएर किसानलाई राहत दिनुपर्छ।' 

उनले सरकारले किसानलाई अनुदान नदिएर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइदिनुपर्ने माग राखे। विश्वकर्माले साना व्यवसाय गर्ने किसानलाई टिकाइराख्न मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए।

'विदेशमा ६ वर्ष बिताएँ, आर्थिक स्थिति तब पनि सुल्झेन', उनले भने, 'प्रदेशको कमाइले जीवनस्तरमा सुधार नआएपछि देशमै स्वरोजगार बन्ने अठोटका साथ गाउँ फर्केर बंगुरपालन गरेको छु तर पछिल्लो महँगीले अबको बाटो सहज देखेको छैन।'

किसान विश्वकर्माले घरमा पाल्दै आएका तीन  माउँ र एउटा बंगुरको पाठोबाट संख्या बढाएर २६ बंगुर उत्पादन गरेर फार्म दर्ता गरेका थिए। उनले सुरुमा मासु उत्पादनका लागि बंगुरपालन गरे पनि हाल पाठापाठी उत्पादनमा जोड दिएको बताए।

यहाँ उत्पादित मासु स्थानीय बजारसँगै, पर्वत, पोखरा, काठमाडौंसम्म निर्यात हुने गरेको छ। उनलाई श्रीमती विष्णुमायाले व्यवसाय सञ्चालनमा साथ दिँदै आएकी छिन्। रासस

प्रकाशित: Sep 14, 2023| 23:28 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्