काठमाडौं–संसद्का दुवै बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य दिवंगत सुवासचन्द्र नेम्वाङको निधनमा सर्वसम्मत शोक प्रस्ताव पारित गरेको छ। आज बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङ निधनको शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो।
दुवै बैठकमा स्व. नेम्वाङको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङको निधनप्रति दुवै सदनले गहिरो शोक प्रकट गरेको बताए।
‘नेपालको वर्तमान संसद् र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा स्व. नेम्वाङको महत्त्वपूर्ण भूमिका रहेको थियो। उनको देहावसानको दुःखद घडीमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको यो बैठक सुवासचन्द्र नेम्वाङको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ,’ सभामुख र राष्ट्रिय सभा अध्यक्ष दुवैले बैठकमा शोक प्रस्ताव पारित गर्नुअघि भनेका थिए।
एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेतथ रहेका स्व. नेम्वाको ७१ व्र्षको उमेरमा गत २६ भदौमा हृदयाघातका कारण निधन भएको थियो। उनको आजै पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ।