सोमबार, जेठ २५, २०८३

सन्तानको सन्देश कुरिरहेका रसिला आँखा

बाबुको मुख हेर्ने दिन बाटो हेर्दै गरेका श्रेष्ठलाई न छोराछोरीको फोन आयो न त कुनै सन्देश नै।
 |  बिहीबार, भदौ २८, २०८०

सनद अधिकारी 

सनद अधिकारी 

बिहीबार, भदौ २८, २०८०

चितवन- भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो। कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस्, फोनको आशमा आशमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उनी निकै निराश भएका थिए। बाटो हेर्दै गरेका श्रेष्ठलाई न छोरा-छोरीको फोन आयो न त कुनै सन्देश नै।

National life

उनले भने, ‘छोराछोरीको कमाइको के आश गर्नु।’ तीन भाइ छोरा र दुई छोरी काभ्रेमा रहे पनि उनी श्रीमतीको निधनपछि आश्रममा बस्न थालेका थिए। कहिलेकाहीँ घर गए पनि खासै चासो कसैले नदिएकाले श्रेष्ठको मन देवघाटतिर ढल्किएको हो।

देवघाटमा रहँदा पनि तीर्थयात्रा गर्ने, भजन किर्तन गर्ने गर्दै आएका उनलाई अरु समयमा नभए पनि चाडपर्वका समयमा त छोराछोरीले सम्झेलान् भन्ने थियो तर कसैले खबर नगरेपछि निराश भए।

श्रेष्ठले भने, ‘केही दिनअघि त फोन सम्पर्क भएको थियो। अहिले छैन। उनीहरूले सम्झेलान् भन्ने थियो तर कसैले खबर गरेनन्। ‘ आश्रममा बस्दा र तीर्थयात्रा गर्दा हुने खर्च भने केही परिवारले पठाउने र केही आफ्नो भत्ताबाट जोहो हुँदै आएको छ।

देवघाटको रोटरी करुणालय आश्रममा बस्दै आएका काठमाडौंका शङ्करबहादुर खड्कीले पहिलाको जस्तो चाडबाडको मोह अहिले नरहेको बताए। पहिला पहिला कुशेऔंशीमा छोराछोरीले के खानुहुन्छ भन्दै सोध्ने गरेका थिए तर श्रीमतीको निधनपछि उनी पनि एक्लो भए।

Shivam cement

माया गर्ने माइली छोरीको समेत निधन भएपछि शङ्करबहादुर काठमाडौंको विलासी जीवनभन्दा आश्रममा बस्न ठिक भन्दै यहाँ आएका हुन्। ७३ वर्षीय उनका एउटा छोरा र चार छोरी छन्। छोरासँग सम्पर्क नभएको ६ वर्ष भएको गुनासो गर्दै शङ्करबहादुरले भने, ‘बाबुको मुख हेर्ने दिन यहाँ आएका सबै आफ्नै छोराछोरी जस्तो लाग्छ।’

‘छोराले वास्ता नगरे पनि छोरीहरुको त फोन आउँछ र भेट्न आउँछन् जस्तो लागे पनि कसैले नसम्झँदा निरास बनायो”,  उनले थपे, ‘छोराछोरी सबै काममा व्यस्त भएर होला नसम्झिएको। कमाउन र आफ्नो बालबच्चा त पाल्ने गर्नैपर्‍यो।’

आश्रममै रहेका नवलपरासीको त्रिवेणीका ७३ वर्षीय विजयबहादुर घर्तीको स्वास्थ्यमा समस्या दखिन्छ। आश्रममा आएको दुई वर्ष भयो। जवानी उमेरको छोरो हराएपछि सन्तानको बिछोडले पिरलिएका उनले बाबुको मुख हेर्ने दिन नआए पनि हुने भन्दै गुनासो गरे।

‘छोरो हरायो, चार छोरीलाई ज्वाइँको जिम्मा लगाइयो। सबै आ-आफ्नै काममा व्यस्त, कसैले पनि सम्झने फुर्सद पनि पाएनन् कि जस्तो लाग्छ।’ अन्य समयमा भेटघाटका लागि आउने भए पनि चाडपर्वमा नआउँदा निकै खल्लो लाग्दोरहेछ’, बिजयबहादुरले भने, ‘चाडपर्वका समयमा विभिन्न व्यक्ति आश्रममा केही खानेकुरा लिएर आउँछन्। बा भन्छन्। सबैलाई आफ्नै छोराछोरी सम्झन थालेको छु।’

लामो समय आश्रममा बिताएका पोखराका छविलाल उपाध्याय अधिकारी उर्फ विज्ञानानन्द पनि तीन छोरा र दुई छोरीका बाबु हुन्। उनलार्ई जीवन भनेको नै सङ्घर्ष हो भन्ने लाग्छ। छोराछोरी र नाति नातिनाप्रति कुनै गुनासो नभएको र १७ वर्ष अघिदेखि सन्यासी जीवन बिताएका ९२ वर्षीय बविलालले भने, ‘सांसारिक मोहबाट टाढै रहनु राम्रो हुँदोरहेछ। अहिले आनन्द छ।’

औँसीमध्ये कुशेऔशी एक विशेष र महत्वपूर्ण तिथि हो। सनातन हिन्दु दर्शन र परम्परामा केही तिथिहरू विशेष प्रकृति र महत्वका छन्। कुशेऔंशी बुवाको मुख हेर्ने दिनका रुपमा पनि प्रख्यात छ।

यस दिन छोराछोरीले आआफ्ना बाबुलाई मिठो मसिनो खान दिने र प्रफुल्लीत पारी आर्शिवाद लिने गर्दछन्। बुवा नहुनेले भने विभिन्न पवित्र स्थानमा गई मृतक बुवाको नाममा श्राद्ध गरि यथासक्य सिदालगायत अन्य दान गर्छन्।    -रासस

प्रकाशित: Sep 14, 2023| 15:55 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्