आइतबार, असार १५, २०८२

चितवन निकुञ्जमा भरिए ‘बाघ खोर’, बर्दिया पठाइयो बाघ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको हो।
 |  बिहीबार, भदौ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

vianetvianet

चितवन–चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ। ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको हो। नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई बाघमध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो। एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्काे बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो।

मंगलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो। अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उनले जानकारी दिए। यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो। राख्ने ठाउँ नभएकै कारण बर्दिया पठाइएको हो।

अर्काे अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ। कच्ची भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन। सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उनको भनाइ छ। यो बाघ केही समयदेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो।

हाल कसरामा सानोसहित चार बाघ छन्। तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो। सो भाले बाघ अन्दाजी १० वर्षको छ। गत वर्ष चितवनकै माडीमा आक्रमण गरी मान्छे मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ।

अर्काे देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ। तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ। सौराहामा खोरमा दुई बाघ रहेका छन्। तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ।

उक्त भाले बाघ अन्दाजी चार वर्षको हो। अर्काे गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ। तिवारीले अहिले चितवनमा ६ बाघ खोरमा रहेको बताए। निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँ अभाव भएको उनको भनाइ छ।

पछिल्लो समय भरतपुर भ्रमण वर्ष पारेर निकुञ्ज नजिकै देवनगरमा खुला खोर निर्माण गरी सर्वसाधारणले हेर्न मिल्ने गरी बाघ राख्ने तयारी गरिएको छ। तिवारीले सर्वसाधारणका लागि खुला गर्न सके बाघबाट आर्थिक उपार्जन गरी उनीहरुको पालनपोषण गर्न सके आर्थिक भार नपर्ने बताए। सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन लागिएको छ।–रासस

प्रकाशित: Sep 14, 2023| 14:15 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्