बुधबार, पुस २, २०८२

राजनीतिमा 'सुवास' छरेर अस्ताएका सुवास

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए।
 |  मंगलबार, भदौ २६, २०८०

मनोज अधिकारी

मनोज अधिकारी

मंगलबार, भदौ २६, २०८०

फिक्कल (इलाम)- इलाम क्षेत्र नम्बर २ का संघीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले इलाम शोकमग्न भएको छ। उनी २०५६ सालदेखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुन्।

National life

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सूत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लावासीका लागि ‘राजनीतिक मियो’ थिए। इलाम बजार नजिकै सुन्तलाबारीमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए।

२०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परे। २०४८ र २०५२ मा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए।

२०५६ सालको संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए। उनी जनआन्दोलन २०६२/६३ सँगै पुनः स्थापित संसद्का सभामुख भएका थिए। २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधान सभाको अध्यक्ष भएका थिए। संविधान सभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए। उनी चार पटक सभामुख हुँदा उनी सधैँ सर्वसम्मत नै बने।

इलाम शोकमग्न
नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन्। नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ।

Laxmi sunrise bank
kumari

इलाम क्षेत्र नम्बर १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए। देश र जनताका लागि नेम्वाङले पुर्‍याएको योगदान अतुलनीय हुने जनाउँदै उनले देशले नै शोक मनाइरहेको बताए। 

गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए। ‘पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ’, उनले भने, ‘इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो।’

Madhav nepal1694487191.jpg
उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो’, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भने, ‘उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ।’

राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन्। इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, ‘म धेरै राजनीति त जान्दिनँ तर उहाँको व्यक्तित्वबाट प्रभावित थिएँ। एकाबिहानैको खबरले स्तब्ध भएँ।’

नेकपा (माओवादी केन्द्र) का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा नेम्वाङले चालेको कदम बिर्सन नसकिने बताएका छन्। ‘कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्थ्यो’, उनले भने, ‘सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुन सक्ने देख्छु।’

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, ‘उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ। उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ।    -रासस

प्रकाशित: Sep 12, 2023| 08:23 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्