सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुक्खा पहिराका कारण दुई दिनदेखि अवरुद्ध बेनी-दरबाङ सडक अझै खुलेन

सुक्खा पहिराका कारण दुई दिनदेखि अवरुद्ध बेनी-दरबाङ सडक अझै खुलेन

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

गलेश्वर- आइतबार बिहानैदेखि अवरुद्ध बेनी–दरबाङ सडक खण्ड आज दिउँसोसम्म पनि सञ्चालन नभएपछि यात्रुहरू समस्यामा परेका छन्।

National life

म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा आइतबार बिहानदेखि खस्न सुरु गरेको सुक्खा पहिरो सोमबार साँझसम्म पनि निरन्तर खसिरहेको छ। पहिराको कारण आज साँझसम्म पनि सडक खुलाउन नसकिएको प्रहरीले बताएको छ।

उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रूपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको छ। फापरखेतको खोल्सोबाट झर्ने पुरानो पहिराले सताइरहने सो सडक खण्डमा आइतबारदेखि पुरानो पहिराको करिब ६० मिटर वर तातोपानी क्षेत्र तर्फबाट नयाँ सुक्खा पहिरो खसेपछि नयाँ समस्या थपिएको हो।

सुक्खा पहिराका कारण बेनीबाट दरबाङतर्फ जाने सवारी साधनहरू तातोपानी र दरबाङदेखि बेनीतिर जाने सवारी साधनहरू मसारमा रोकिएका छन्। यात्रुहरू घुमाउरो बाटो प्रयोग गरेर पैदल नै आ–आफ्नो गन्तव्यतर्फ लाग्ने गरेका छन्।

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिराको जोखिम थियो। पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीयवासी बताउँछन्। धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीबजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताए। सामान्य वर्षा हुनेबित्तिकै खस्ने पहिराले सडक पुरिएर सवारी आवतजावत बन्द हुने गरेकोमा अहिले नयाँ ठाउँबाट सुक्खा पहिरो झर्न थालेपछि झनै समस्या भएको उनले बताए।

Shivam cement

ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले नयाँ पहिरोबाट वारपारसमेत गर्न नसकिने भएको हुँदा यात्रुहरू घुमाउरोबाटो प्रयोग गरेर पैदल नै गन्तव्यतर्फ लाग्नुपर्ने बाध्यता रहेको श्रीसको भनाइ छ। “वर्षापछि पाखोबाट बगेर आउने ग्रेगर सडकमा थुप्रिँदा आवतजावत बन्द हुन्छ,” उहाँले भन्नुभयो “फापरखेतको पहिरो बेनी–दरबाङ सडकको क्यान्सर रोग जस्तो भएको छ।”

उनका अनुसार पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन्। करिब दुई सय ५० मिटर सडक पहिरोग्रस्त छ। पाखो र भिरको बीचमा खनिएको सडकमुनि म्याग्दी नदी छ। “सडकमाथिको भिरमा ग्रेगरै ग्रेगर छ। खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन,” श्रीसले भने, “म्याग्दी नदीको किनारमा बनाइएको पक्की पर्खालले कटान रोकिएको छ।”

उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र दुई सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ। पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्नेबित्तिकै पन्छाउने गरिएको भए पनि अहिले सुक्खा पहिरो खसिरहेकाले समस्या उत्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए। “फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायो इन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ,” उनले भने। फापरखेतको पहिरो नियन्त्रण सम्भव नभएकाले वैकल्पिक मार्ग बनाउनुपर्ने स्थानीयवासीले बताएका छन्।

प्रकाशित: Sep 11, 2023| 20:40 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्