बिहीबार, असार ३२, २०८३

अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा वीपी

एसियातिर सिफ्ट हुँदै विश्व शक्ति: कसरी फाइदा लिने नेपालले ?

विश्वका कूटनीतिज्ञ तथा कूटनीतिक क्षेत्रका काम गरिरहेका संघसंस्थाहरुले अबको विश्‍व शक्ति राष्ट्रको रुपमा नेपालका उत्तरी र दक्षिण छिमेकी चीन र भारतलाई आँकलन गरिरहँदा नेपालले भने यस अवसरलाई प्रयोग गर्न तदारुकता देखाएको छैन।
 |  सोमबार, भदौ २५, २०८०

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

सोमबार, भदौ २५, २०८०

काठमाडौं- पछिल्लो एक दशकयता २१ औं शताब्दीलाई 'एसियन सेन्चुरी'को रुपमा व्याख्या गर्न थालिएको छ। केही एसियाली नेता तथा रणनीतिकारको बुझाइमा विश्व १९औँ शताब्दीमा युरोपीकरण, २०औँ शताब्दीमा अमेरिकीकरण र अब एसियाकरण हुँदैछ। सन् २०१८ मा भारतको थिंक ट्यांक पर्यवेक्षक रिसर्च फाउन्डेसनले आफ्नो एक प्रतिवेदनमा 'एसियन सेन्चुरी चीनको उदय र भारतको आर्थिक वृद्धिका कारण परिभाषित भएको' उल्लेख गरेको थियो। 

अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरले आफ्नो पुस्तक 'डिप्लोमेसी'को पहिलो च्याप्टर 'द वर्ल्ड अर्डर' मा 'हरेक शताब्दीमा विश्‍व व्यवस्था परिवर्तन हुने प्राकृतिक नियम रहेको देखिएकोले अब अमेरिकी शक्ति एसियातिर सिफ्ट हुन सक्ने आधारहरु तयार भइरहेको' उल्लेख गरेका छन्। 

यसरी विश्वका कूटनीतिज्ञ तथा कूटनीतिक क्षेत्रका काम गरिरहेका संघसंस्थाहरुले अबको विश्‍व शक्ति राष्ट्रको रुपमा नेपालका उत्तरी र दक्षिण छिमेकी चीन र भारतलाई आँकलन गरिरहँदा नेपालले भने यस अवसरलाई प्रयोग गर्न तदारुकता देखाएको छैन। पछिल्लो समय नेपालमा आफ्नो राजनीतिक शक्ति आर्जन गर्न र कुर्सीमा बसिरहनका लागि 'कूटनीति' को दुरुपयोग गरेको आरोप लागिरहेको छ। 

अहिलेका राजनीतिज्ञहरुले वीपी कोइरालाको कूटनीतिक कौशलताबाट पाठ सिक्‍नुपर्ने नेता तथा विज्ञहरुले बताइरहेका छन्। वीपीको ११० औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको वीपी साहित्य महोत्सवको दोस्रो दिन सोमबार 'अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा वीपी' शीर्षकको सेसनमा बोल्दै नेता तथा विज्ञहरुले अहिलेका राजनीतिज्ञले वीपीबाट कूटनीतिक कौशल सिक्‍नुपर्ने बताएका हुन्। 

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका वीपीको समयमा विश्‍व शीतयुद्धमा गुज्रिरहेको थियो भने चीनबाट दलाई लामाहरु लखेटिएको अवस्था थियो। भारत र चीनबीच क्षेत्रीय द्वन्द्व चर्किने स्थितिमा पुगेको समय थियो। अर्कातिर नेपालको आन्तरिक प्रजातन्त्र वामे सर्ने स्थितिमा थियो। १९ महिनामात्रै सत्ताको नेतृत्व गर्न पाएका वीपीले छोटो समयमा नै १४ मुलुकहरु अस्ट्रेलिया, अस्ट्रिय, स्वीडेन, मलेसिया, थाइल्याण्ड, इजरायल, पोल्याण्ड, सर्विया, इटाली, पाकिस्तान, बर्मा, नेदरल्याण्ड, फिलिपिन्स र स्विटजरल्याण्डसँग दौत्य सम्बन्ध कायम गरे। चीन र भारतले समेत मान्यता नदिएको इजरायलसँग सम्बन्ध कायम गर्ने आँट गरेर मान्यता दिने दक्षिण एसियामा पहिलो मुलुक नेपाल बनाए। 

चीनसँगको सीमा सम्झौता गरे र सगरमाथा बाँड्न सकिँदैन भनेर चीनसँग स्पष्ट अडान राखे। असंलग्‍न परराष्ट्र नीतिमा निर्भिक अभ्यास र अन्तर्राष्ट्रिय दृष्टिकोण फराकिलो बनाएका वीपीबाट अहिलेको नेतृत्वले कूटनीतिक कौशल सिक्‍नुपर्ने नेता तथा विज्ञहरुले बताएका छन्। 

BP-shatya-mahotsab-2221694441394.jpg

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वीपीले चीन र भारतसँग सम्बन्ध सुधार गर्ने कुरा र अन्तर्राष्ट्रिय सम्बन्धलाई फराकिलो बनाउने कुरामा मेजर ब्रेक थ्रु गरेको बताएका छन्। सानेपाको कांग्रेस मुख्यालयमा जारी महोत्सवमा उनले भने, 'चीनसँग सम्बन्ध सुधार गर्ने र सीमा सम्झौता गर्ने कुरा ब्रेक थ्रु गर्नुभयो। भारत र चीनले पनि महत्व नदिएको इजरायलसँग पनि नेपालको राष्ट्रिय हितका लागि दुबै मुलुकभन्दा पनि बाहिर रहेक सम्बन्‍ध बनाउन सक्छौं भन्‍ने उदाहरण पेश गर्नुभयो।' 

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वीपीको भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको विशेष सम्बन्ध कायम गरौं भन्‍ने प्रस्ताव अस्वीकार गर्दै नेपालले स्वतन्त्र र मैत्रीपूर्ण सम्बन्ध कायम गर्छ भन्‍ने अडान राखेको बताए। ज्ञवालीले त्यस समयमा वीपीले बोलेको कुराबारे भने, 'वीपीले सांस्कृतिक सम्बन्धले मात्रै द्विपक्षीय सम्बन्ध राम्रो हुन सक्दैन। यदि त्यसो हुने हो भने समान संस्कृति भएको  युरोपमा सबैभन्दा बढी युद्ध भएको छ भनेर भारतीय प्रधानमन्त्रीलाई भन्‍नुभएको थियो। यो उहाँको क्षमता र राष्ट्रिय हितका विषयमा नझुक्‍ने नीतिबाट हामीले सिक्नुपर्छ।' 

त्यसैगरी पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले वीपीले चीन अथवा भारतलाई कार्डको रुपमा प्रयोग नगरेको र अहिले पनि त्यसलाई प्रयोग गर्न नहुने बताए। उनले भने, 'अहिले हामी चीन कार्ड वा भारत कार्ड भन्‍ने गरेका छौं। त्यस समयमा वीपीले दुबै छिमेकीसँग आँखा जुधाएर राष्ट्रिय हितको रक्षा गर्दै सन्तुलित सम्बन्ध कायम गर्नुभएको थियो। अहिले हामीले आधारभूत कुरा छोडेको नभए पनि वीपीको कूटनीतिक कौशलताबाट सिक्‍नुपर्ने धेरै छ।' 

त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक इन्द्र अधिकारीले सम्बन्ध र सम्पर्कको हिसाबले पनि अन्तर्राष्ट्रिय व्यक्तित्व भएको र चीन र भारतबीचको क्षेत्रीय द्वन्द्वको समयमा पनि नेपालका मुद्दाहरुलाई स्पष्टताका साथ राखेको उल्लेख गर्दै अहिलेका नेताहरुबाट त्यसो हुन नसकेको गुनासो गरिन्। उनले भनिन्, 'वीपीले राष्ट्रिय स्वार्थ र सीमाले मानवीयतालाई खुम्च्याएको कुरा गर्नुहुन्थ्यो। सम्बन्ध र सम्पर्कको हिसाबले पनि अन्तर्राष्ट्रिय व्यक्तित्व हुनुहुन्थ्यो। चीन र भारत क्षेत्रीय द्वन्द्वको स्थितिमा पनि नेपालको हितका पक्षमा काम गर्न सफल हुनुभयो। यद्पि अहिले त्यो स्थिति छैन।'

वीपीले संयुक्त राष्ट्र संघको १५औं साधारण सभामा दिएको अभिव्यक्तिले वीपीलाई विश्व जगतमा चिनाएको बताइन्। ‘बिपीले ठूला शक्ति राष्ट्रले युद्ध र हतियारमा लगानी गरिरहेको भन्दै त्यसको मार साना र अविकिसित देशमा परिरहेकोले धनी र ठूला राष्ट्रले विकाशिल राष्ट्रलाई सहयोग गर्नु पर्छ भनेर माग गरेका थिए’, उनले भनिन्, 'सो अभिव्यक्तिबाट वीपीको उचाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सकेको थियो।' 
 
प्रधानमन्त्री भएपछि वीपीले चीनको भ्रमणको तयारी हुँदै गर्दा भारतीय प्रधानमन्त्री तथा मित्र जवाहरलाल नेहरुले चीनसँग वार्ता गर्ने विषयमा सुझाव दिँदा अश्वीकार गरेका बताइन्। 'नेहरुको दबाबलाई अश्वीकार गर्दै वीपीले नेपाल सार्वभौम र स्वतन्त्र देशको हैसितयमा आफ्नो कूटनीति र सम्बन्ध छिमेकीसँग राख्न सक्छ भन्ने जवाफले नेपालको हैसियतलाई माथि उठाएको थियो,'उनले भनिन्। चिनियाँ राष्ट्रपति माओत्सेतुङ र प्रधानमन्त्री चाउ एन लाईसँग वार्ता गरेर वीपीले कूटनीतिक सम्बन्ध विस्तार गरेको स्मरण गर्दै चिनियाँ प्रधानमन्त्रीले गरेको सम्मानलाई आज पनि ऐतिहासिक रुपमा लिने गरिएको विश्लेषक अधिकारीले बताइन्। 

सगरमाथाको विवाद समाधानमा वीपीले गरेको योगदानको पनि सेसनमा चर्चा गरिएको छ। चीनले 'माउन्ट एभेरेस्ट' अंग्रेजी नाम भएको र नेपालको मात्रै हुननसक्ने भएकोले आधा-आधा भएको दाबी गरिरहँदा चिनियाँ पक्षसँगको वार्तामा वीपीले भनेका थिए, 'त्यसो भए चोमोलोङ्‍मा पनि तिब्बती नाम हो, कसरी चिनियाँ हुन्छ? हाम्रोमा त माउन्ट एभेरेस्टलाई सगरमाथा भन्छौं। त्यसकारण सगरमाथा सिंगो नेपालको हो।' 

त्यस समयमा वीपीले सगरमाथा नेपालको भएको कुरामा चिनियाँ पक्षलाई सहमत गराए पनि पछि राजा महेन्द्रको पालामा पानी ढलो सिद्धान्तको आधार बनाएर सगरमाथा उत्तरतिर चीनको भएको सम्झौता गरिएको थियो। 

सेसनमा बोल्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, 'वीपीलाई अपदस्त गर्नुमा आन्तरिक शक्ति त छँदै थियो र भारतका ठूला नेताहररुसँग आँखा जुधाउने हैसियत थियो त्यसैले राजा महेन्द्रले उनलाई हटाए । राजासँग घाँटी जोडिएको छ भनेर नेपाल फर्कनुभयो यो ठीक गर्नु भएन भनेर उहाँको अघि भनेको छु। राम्रै नियतले लिए पनि त्यो नीति गलत थियो। त्यसबाट कांग्रेसका साथीहरू बच्‍नुहोला। उहाँ अग्रगामी हुनुनहुन्थ्यो।' 

BP-shatya-mahotsab-4441694441394.jpg

त्यसैगरी डा. भट्टराईले अहिले नेपालमा अस्थिरता निम्त्याउने शक्तिहरु भारत र चीनको चाकडी गर्न लागेकोले अहिलेको नेतृत्व सचेत हुनुपर्नेसमेत बताए। पूर्वराजा ज्ञानेन्द्रलाई संकेत गर्दै उनले भने, 'हामीले पदच्युत गरेका मानिसहरु विदेशमा गएर बसेका छन्। महिनौंसम्म बसेका छन्। दुबै छिमेकीलाई रिझाएर विदेशीहरुको चाकडी गरेका छन्। नेपालमा वैदेशिक चलखेलमा साथ दिन तयार भइरहेका छन्। नेपालका नेताहरुलाई चिन्ता बसेका छन्।'  

पूर्वपरराष्ट्रमन्त्री डा. खड्काले चीनका राष्ट्रपति माओत्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेश गर्ने वीपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मागाई क्षतिपूर्ती गराएको घटना कुटनीतिक क्षेत्रको महत्वपूर्ण योगदान भएको बताए। उनले थपे, 'नेपालमा हालका राजनीतिक दल र नेताले परराष्ट्र क्षेत्रलाई प्राथमिकता नदिँदा, देशमा भ्रष्टाचारको इस्युमा वृद्धि भएको, भद्रगोल र अस्थिरता देखिँदा नेपालले अन्तराष्ट्रिय फोरममा आफ्नो भनाई राख्न सकेको छैन।' 

पूर्वपरराष्ट्रमन्त्री ज्ञावलीले चीनसँग सम्बन्ध राख्दा भारतविरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनु पर्दैन भनेर लिएको अडान परराष्ट्र मामिलामा उल्लेखनीय भएको बताए। उनले थपे, 'भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिक भन्दा व्यापारिक आधारमा हुनुपर्ने नीति लिएको, भारतको अनुचित दबाबलाई वीपीले अश्वीकार गरेको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा हुँदा वीपीले राष्ट्रियतालाई प्राथमिकता दिनुभयो। बिपीसँगको राजनीतिक लाईनमा समर्थन जनाउन नसकिए पनि कूटनीतिक योगदानलाई सबै दलले र मुलुकले सम्मान गरेका छन्।' 

भारत र चीनको बीचमा हुनु नेपालका लागि अवसर 
नेपाललाई पृथ्वीनारायण शाहले दुई ढुंगाबीचको तरुलको रुपमा ब्याख्या गरे पनि नेताहरुले भने अहिले चीन र भारतको बीचमा हुन नेपालका लागि अवसर भएको बताएका छन्। निकै भूराजनीतिक जटिलताका बीच वीपीले नेपालको कूटनीति र अन्तर्राष्ट्रिय छवि सुधार्न तथा छवि निर्माण गर्न गरेको योगदानबाट पाठ सिक्‍नुपर्ने नेताहरुले बताएका छन्। अहिले विश्‍वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन र विश्‍वको पाँचौं ठूलो अर्थतन्त्र भएको र विश्‍वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारतको बीचमा रहेको नेपालका लागि यो अवसर भएको पूर्वपरराष्ट्रमन्त्री डा. खड्काले बताएका छन्। 

उनले भने, 'वीपीले त्यस समयमा नै भारत र चीनको बीचमा हुनु सामरिक महत्व थियो भन्‍ने कुरालाई स्मरण गर्दै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन पहल गर्नुभयो। अहिले पनि वीपीले देखाएको कूटनीतिक क्षमताबाट पाठ सिक्दै दुबै छिमेकीको बीचमा रहेर अवसर लिन सक्छौं।' 

BP-shatya-mahotsab-3331694441394.jpg

त्यसैगरी पूर्वपराष्ट्रमन्त्री ज्ञवालीले बदलिँदो भूराजनीति र दक्षिण एसियामा चाप परेको र भारत र चीनको उदयसँगै नेपाल थप दबाबमा परेको महसुस हुन थालेको बताए। उनले भने, 'चीनको उदय भारतको पनि उदयसँगै झण्डै २०० वर्षयताकै शक्तिको रुपमा रहेका अमेरिका र युरोप ओरालो लाग्दै गएको छ। शक्ति परिवर्तन हुने स्थितिमा छ। अहिले शक्ति राष्ट्रले आफ्नो शक्तिलाई कायम राख्‍न र उदयीमान शक्तिले प्रभाव विस्तार गर्ने समय भएकोले घर्षणको स्थिति पैदा भएको छ र यसमा हामी दबाबमा पर्छौं।' 

तर, नेपालले एक-अर्का छिमेकीविरुद्ध कार्ड प्रयोग गरेर नभई आर्थिक साझेदारीलाई अघि बढाउनुपर्ने बताए। उनले थपे, 'दोस्रो ठूलो अर्थतन्त्र भएको चीन र सबैभन्दा ठूलो जनसंख्या भएको भारतको बीचमा रहेको नेपालले अवसरको रुपमा प्रयोग गर्न सकेमा हाम्राका लागि अनुकूल हुँदै जान्छ।'

त्यसैगरी पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपालको इतिहासमा भूराजनीति बदलिएर अवसर सिर्जना भए पनि यसका लागि जुन ढंगले काम हुनुपर्ने हो, त्यो हुन नसकेको बताए। उनले थपे, '२१ औं शताब्दीको ठूलो राजनीतिक संघर्षको मञ्‍चन हुँदैछ। त्यसका लागि हामी देशभित्र पनि एकता कायम गर्न नसक्ने र कुर्सीको भागबण्डाबाहेक सहमति गर्न नसक्‍ने स्थिति छ। तर, 'एसियन सेन्चुरी' भनिएको यस समयलाई छोपेर जुन ढंगले काम गर्नुपर्थ्यो त्यो हुन सकेको छैन।' 

उनले मुलुकको नेतृत्व गर्ने दलले वैचारिक झुकाव अनुसार सम्बन्ध निर्माण गर्दा स्वभाविक भए पनि निजी र दलगत स्वार्थका निम्ति सम्बन्ध बनाउँदा कूटनीति बरालिन थालेको पनि बताएका छन्। नेपालको पब्लिक डिप्लोमेसी निकै कमजोर स्थितिमा भएको पनि उनले स्वीकार गरेका छन्। भने, 'जो देशको निम्ति लड्छ त्यसलाई विदेशीको दलाल भन्‍ने र विदेशीका लागि लड्ने मानिसहरु राष्ट्रवादी बन्‍ने प्रवृति हाबी भएको छ। छिमेकीले पनि नेपाललाई हेपेका छन्। हामीले पदच्युत गरेका मानिसहरुले शक्ति केन्द्रको चाकरी गरेर नेपालमा अस्थिरता निम्त्याउन खोजेको छ। यसबाट सचेत हुन आवश्यक छ।'
 

प्रकाशित: Sep 11, 2023| 20:06 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्