सोमबार, जेठ २५, २०८३

कोटेश्वर क्याम्पसका संस्थापकहरू सम्मानित 

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

काठमाडौं- कोटेश्वर बहुमुखी क्याम्पसका संस्थापकहरु सम्मानित भएका छन्। विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यू.ए.ए.) प्रमाणीकरण हुन सफल भएको खुशीयालीमा कोटेश्वर क्याम्पसले सोमबार राजधानीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन समारोहमा क्याम्पसका संस्थापकहरुमध्ये पाँच जनालाई सम्मान गरेको हो। 

National life

सम्मानित हुनेहरुमा पुर्व राजदुत महेन्द्रबहादुर पाण्डे, समाजसेवी विशेश्वरमान श्रेष्ठ, हेमन्ती भण्डारी, स्व.राजेन्द्र सुवेदी र स्व. रुद्र खरेल (मरणोप्रान्त) रहेका छन्। समारोहका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी, कोटेश्वर क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपाल र क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले सम्मानित व्यक्तित्वहरुलाई माला, खादा र सम्मानपत्र मार्फत अभिनन्दन गरेका थिए। विसं २०४७ सालमा कोटेश्वर क्याम्पस स्थापना गर्ने बेला सम्मानित भएका व्यक्तित्यहरुले आफ्ना शैक्षिक प्रमाणपत्रहरु समेत त्रिभुवन विश्वविद्यालयमा जम्मा गरेर क्याम्पस सञ्चालनको स्विकृति लिएका थिए। क्याम्पसको संस्थापक सदस्य १० जना रहेका थिए। 

विसं २०४७ सालमा स्थापना भएको कोटेश्वर बहुमुखी क्याम्पस लामो समयसम्म कोटेश्वर महादेबस्थानस्थित कोटेश्वर सरस्वती माविको भवनमा भाडामा विहानी सत्रमा सञ्चालन भएको थियो। चार वर्ष पहिले जडिबुटीमा क्याम्पसको आफ्नै भवन बनेपछि अहिले बिहानी सत्रमा स्नातक तथा स्नातकोत्तर कक्षा र दिवा सेवामा प्लस टू कक्षा सञ्चालित छन्। कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कोटेश्वर क्याम्पसले गत महिना विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यू.ए.ए.) प्रमाणीकरण हुन सफल भएको हो।

समारोहमा बोल्दै विश्वविद्यायल अनुदान आयोगका अध्यक्ष प्रा.अधिकारीले विश्वविद्यालयले क्यू.ए.ए. प्राप्त कलेजहरुलाई पृथक हैसियत प्रदान गर्नु पर्ने आवश्यकता रहेको बताए। पछिल्ला वर्षहरुमा उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढ्दै जानु चिन्ताको बिषय बताउदै स्वदेशमै पढ्न पाउने व्यवस्था गर्न सरकारले क्यू.ए.ए. प्राप्त कलेजहरुलाई नयाँ नयाँ विषय पढाउन पाउने अवसर दिनु पर्नेमा जोड दिए। कोटेश्वर क्याम्पस देश भरिका क्याम्पसहरुको भिडमा उदाहरणिय हुनु पर्ने प्रा. अधिकारीले सुझाव दिए। 

पुर्व राजदुत पाण्डेले क्याम्पस स्थापनाकालमा आफुहरुले गरेको मेहनतलाई क्याम्पसका शिक्षक, विद्यार्थी र अभिभावकहरुले दिएको निरन्तरताका कारण अहिलेको अवस्थासम्म पुगेको बताए। कोटेश्वर क्याम्पसका क्याम्पस प्रमुख गोविन्दबहादुर कार्कीले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यू.ए.ए.) प्रमाणीकरण भएपछि आफुहरुको ध्यान अव गुणस्तर अभिवृद्घि तिर रहेको बताए। अहिले किन हजारौ विद्यार्थी पढ्नकै लागि विदेश गइरहेका छन त ? यो प्रश्नको उत्तर खोज्नु पर्ने बेला आइसकेको बताउदै क्याम्पस प्रमुख कार्कीले स्वदेशमै गुणस्तरीय शिक्षा र समयको माग अनुसारको पाठ्यक्रम कार्यन्वयन हुनु पर्नेमा जोड दिए। 

Shivam cement

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामवाबु नेपालले क्याम्पसमा अध्ययनरत् जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउने उद्देश्यले व्यक्तिगत रुपमा  ३ लाख क्याम्पसलाई प्रदान गर्ने बचन दिए। उनले क्याम्पसको गुणस्तर कायम राख्न सबैको सामुहिक पहल हुनु पर्ने बताए। समारोहमा नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष सत्रुघ्न गुप्ता, शिक्षाविद् प्रा. बाशुदेव काफ्ले, काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली, जनभावना क्याम्पसका क्याम्पस प्रमुख शिवराज संजेल लगायत शिक्षासेवी, समाजसेवी, विद्यार्थी र अभिभावकहरुको उल्लेख्यनिय उपस्थिति रहेको थियो। सो अवसरमा विद्यार्थीहरुले विभिन्न नृत्यका माध्यमबाट मनोरन्जन प्रदान गरेका थिए।

प्रकाशित: Sep 11, 2023| 19:06 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्