सोमबार, जेठ २५, २०८३

२८ करोडमा निर्माण गरिएको धनगढीको सभागृह प्रयोगविहीन

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

गोदावरी- कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ। करिब २८ करोड रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो।

National life

सो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभाहल  हस्तान्तरण गर्न सकेको छैन। धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगर्दा स्वामित्वमा लिन नसकिएको धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले बताए।

सो सभागृह डेढ बिघा जमिनमा २८ करोड ५५ लाख रूपैयाँको लगानीमा निर्माण गरिएको जनाइएको छ। सभागृह निर्माण, रंगरोगन र विद्युत् जडानलगायतका सम्पूर्ण मुख्य काम २०७९ असारमा सम्पन्न भइ निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिसकेको छ।

निर्माण कार्यसम्पन्न भएपछि हस्तान्तरणको तयारीसमेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि हस्तान्तरणमा ढिलाइ हुन गएको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीको भनाइ छ। मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाइरहेकाले फर्निचर र साउण्ड सिस्टमका लागि अर्को ठेक्का गर्नुपर्ने उनले बताए। 

सभागृहमा नौ सय जना क्षमताको मुख्य ‘अडिटोरियम’, दुई सय जना क्षमताको सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा ‘रिहल्सलन’ कक्ष छन्।

Shivam cement

करिब चार सय गाडी अटाउने ‘अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ’ पनि तयार गरिएको छ। सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान गर्न चालु आर्थक वर्षमा २५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको सूचना अधिकारी कलौनीले जानकारी दिए।

निर्माण कम्पनीसँग २०७५ माघ २ गते ३० महिनामा निर्माण सम्पन्न हुने गरी सभागृह निर्माणको ठेक्का सम्झौता भएको थियो। कोभिड- १९ का कारण काममा बाधा उत्पन्न भएपनि एक वर्ष म्याद थप गरी २०७९ जेठमा निर्माण सम्पन्न भएको थियो। -रासस

प्रकाशित: Sep 11, 2023| 21:02 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्