काठमाडौं- गत ३ साउनमा त्रिभुवन विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएर राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको ६० किलो तस्करी सुन प्रकरणका कारण भन्सार कर्मचारीको आलोचना भइरहेको छ।
सुन तस्करी प्रकरणमा हालसम्म विमानस्थल भन्सारमा कार्यरत ६ जना कर्मचारीलाई छानबिनको दायरामा ल्याइसकिएको छ। शनिबारमात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप तीन जनालाई पक्राउ गरेको छ।
सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नासुद्वय कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको हो। त्रिवि भन्सारमा कार्यरत तीनै जनाको सुन तस्करीमा संलग्नता देखिएपछि पक्राउ गरिएको हो।
तीन जनासहित सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ। सुन तस्करी प्रकरणको अनुसन्धान अहिले राजस्व विभागले सीआईबीलाई सुम्पिएको छ। विमानस्थल भन्सारमा कार्यरत कर्मचारी एकपछि अर्को गरी पक्राउ पर्न थालेपछि बदनामी हुनबाट जोगिन इमान हुनुको साटो काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। त्रिवि भन्सार कर्मचारीले सुन तस्करी मात्र नभई विदेश आउने नेपालीको लगेजसमेत लुट्ने गरेको समाचार बेलाबेला सार्वजनिक भइरहन्छन्। बाबुराम भट्टराई अर्थमन्त्री भएका बेलाको बजेटमा भन्सार कर्मचारीको भत्तामा २५० प्रतिशत वृद्धि गरिए पनि २०७४ पछि त्यसलाई हटाइएको छ। यसकारण पनि विमानस्थल भन्सार कर्मचारीले थप आम्दानीका लागि तस्कर, घुस रकम खाने गरेको भनेर आलोचना हुने गरेको छ।
भन्सार कर्मचारीले सरकारी तलबबाहेक ठूलो रकम व्यापारी, व्यवसायीबाट नेपालमा आयात गरिने करोडौं रकमको सामानमा कम बिलबिजक बनाएर अतिरिक्त आम्दानी लिने गरेका हुन्छन्। सोही कारण भन्सारमा कार्यरत पियनदेखि सचिवसम्मका कर्मचारीको आर्थिक हैसियत काठमाडौंमा घरघडेरी जोड्नदेखि कार लिएर हुइँकिनुलाई सामान्य ठानिन्छ।
सरकार फेरिनासाथ सत्तारुढ दल निकट संगठनमा आबद्ध कर्मचारीहरु भन्सारमा सरुवा हुने गर्छन्। उनीहरुले एक–दुई वर्षमै अकुत सम्पत्ति कमाउँछन्। उनीहरुको आर्थिक हैसियतले डाँडो काट्छ। तर, घुसबाट कमाएको सम्पत्ति सरकारी निकायले छानबिन गर्दैन।
काठमाडौं विमानस्थल भन्सारमा विदेशमा काम गरेर फर्किने सयौं नेपालीको भीड लाग्ने गर्छ भने कार्गोमार्फत आयात हुने सामानको पनि भन्सार पास गराउनुपर्छ। विमानस्थल भन्सार कर्मचारीले झिनामसिना कानुनी छिद्र झिकेर सर्वसाधारणलाई झुलाउने हुँदा उनीहरुलाई थप रकम दिएर आफ्ना सामान विमानस्थलबाट पास गराएर बाहिर ल्याउने गर्छन्।
राजनीतिक दलका नेता र भन्सार कर्मचारीकै मिलेमतोमा हुँदै आएको सुन तस्करी प्रकरण ३ साउनपछि ‘बिलो’ नमिल्दा छताछुल्ल हुन पुगेको हो। कमिसन नमिलेपछि कुनै कर्मचारीले पोल खोल्नासाथ ६० किलो सुन तस्करी प्रकरण बाहिर आएको बताइन्छ।
नागरिक समाज र संसद्मा सुन तस्करी प्रकरण छानबिनको माग हुन थालेपछि सरकार र राजनीतिक दलहरु बाध्य भएर संयुक्त संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन्। तर, सरकारले सुन तस्करी छानबिन गरिरहेको राजस्व अनुसन्धानको छानबिन सीआईबीलाई दिएपछि शंका उब्जिएको छ।
तस्करी काण्डले बदनाम विमानस्थल भन्सारमा कार्यरत कर्मचारीले सरकारसँग अनौठा माग राखेर आजदेखि आन्दोलनमा उत्रिएका छन्। उनीहरुको मागको आशय छ- सीआईबीले विमानस्थलमा काम गर्ने कर्मचारीलाई घुस खान र तस्करीमार्फत हुने सामान छुटाउन डिस्टर्व गर्यो।
भन्सार कर्मचारीले आजदेखि निकासी पैठारीसम्बन्धी सबै काम बन्द गरेका छन् भने काम गर्ने वातावरण नभएको भन्दै सात बुँदे माग सरकारसमक्ष तेर्साएका छन्। विमानस्थल भन्सार कर्मचारीले आइतबार विज्ञप्ति जारी गर्दै आज र भोलि त्रिभुवन भन्सार कार्यालयबाट हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने घोषणा गरिसकेका छन्।
सरकारले सुन तस्करीमा संलग्न र घुस खाने कर्मचारीलाई पक्राउ गरेर दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गरी आफूहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने काम भएको भन्दै गत १२ भदौमा सामूहिक राजीनामा दिएका थिए।
काम गर्ने सवालमा विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्ण रुपमा बन्द नभएसम्म काम गर्न नसकिने विज्ञप्तिमा उल्लेख गरेका छन्। भन्सारमा हुने (तस्करी, घुस) नियमित कार्यलाई अनुसन्धानको वहानामा तथा अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी निर्दोष कर्मचारीलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिनेलगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने माग कर्मचारीको छ।
विमानस्थल भन्सार कार्यालयमा डर-त्रासबिना, निर्भीक रुपमा र कसैले हस्तक्षेप नगरी काम गर्न पाउनुपर्ने माग पनि उनीहरुको छ। सुन तस्करी र घुस काण्ड अनुसन्धान गर्ने विभिन्न निकायले बिनाप्रमाण, पक्राउ पुर्जी अनुमति नलिई कर्मचारीलाई पक्राउ गर्ने, दुःख दिने, हैरानी दिने कार्य अविलम्ब बन्द हुनुपर्ने माग सरकारसमक्ष राखिएका छन्।
सीआईबीले सुन तस्करी प्रकरणमा संलग्न भएको भन्दै केही कर्मचारी पक्राउ गरी हिरासतमा लिएको अवस्थामा के–कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यलयलाई समेत जानकारी नदिई अमानवीय तथा अपराधीलाई जस्तै निकृष्ट व्यवहार गरी गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने माग उनीहरुको छ।
विमानस्थलबाट हुने तस्करी र घुस प्रकरणको अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी मिडियाबाजी गर्ने, तस्करलाई सघाउने र घुस खाने कर्मचारी दोषी प्रमाणित नहुँदै उसको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने माग राखिएको छ।
कर्मचारीले राखेका सातमध्ये ६ बुँदे माग असान्दर्भिक रहे पनि सातौं बुँदा भने जायज देखिन्छ। भन्सार कर्मचारीले सीआईबीबाटै सञ्चारमाध्यमलाई उपलब्ध गराएको सूचनाअनुसार घटनाका मुख्य योजनाकार तथा सोसँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका पहुँचवाला व्यक्तिलाई राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिइएको दाबी गरिएको छ। तस्करी प्रकरणमा कर्मचारीलाई मात्र नभई राजनीतिक संरक्षणमा रहेकालाई पनि पक्राउ गर्नुपर्ने माग भन्सार कर्मचारीको छ।
भन्सार कर्मचारीले आजदेखि भोलिसम्म कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गराएका छन्। २७ भदौभित्र उल्लिखित माग (सात बुँदे) सम्बोधन नभए विमानस्थल कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यसमेत प्रभावित गरिने चेतावनी दिइएको छ।
राजस्व अनुसन्धान विभागले ६० किलो सुन बरामद गरेपछि आफूहरूलाई विभिन्न कारणबाट हस्तक्षेप गरिएको भन्दै भन्सारका कर्मचारी आन्दोलित भएका हुन्।