सोमबार, जेठ २५, २०८३

गत वर्ष सात हजार बढीले रोजे 'मृत्युको बाटो'

पछिल्लो १० वर्षको तथ्यांकअनुसार ५६ हजार बढीले आत्महत्या गरेको प्रहरी आँकडा।
 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

काठमाडौं– नेपालमा आइतबार विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइएको छ। पछिल्लो समय आत्महत्याका घटना अचाक्ली बढे पनि सरकारी तबरबाट रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको देखिएको छैन।

National life

नेपाल प्रहरीको पछिल्लो आँकडाअनुसार नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा छन्। पछिल्लो १० वर्षको तथ्यांकअनुसार ५६ हजार बढीले आत्महत्या गरेका छन्। यो संख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो।

गत आर्थिक वर्षमा मात्रै झन्डै सात हजारले आत्महत्या गरेका थिए। २०७० मा ४ हजार ५ सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९/८० मा सो संख्या बढेर सात हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन्। अझ कोभिड–१९ को समय आत्महत्या गर्नेको संख्या बढेको थियो।

तर, पछिल्लो समय आर्थिक मन्दी, देशमा रोजगारी नपाएपछि बिदेसिनुपर्दाको पारिवारिक पीडा, विदेश रोजगारीमा सहनुपरेको प्रताडना, सामाजिक विचलनलगायत कारण बालकदेखि वृद्धसम्मले झुन्डिएरै इहलीला समाप्त गरिरहेको प्रहरी रिपोर्टले भनेको छ।

मनोविद् तथा मनोचिकित्सक आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्। आत्महत्या रोकथाम दिवस एक दिन मात्र मनाएर लछारपाटो नलाग्ने र यस विषयमा वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ।

Shivam cement

सरकारले आत्महत्या रोकथामको नीति ल्याउनुपर्ने, संघसंस्था तथा स्थानीय तहले सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चार माध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने ठान्छन्, मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना। आत्महत्याका घटना बढेपछि नेपालमा त्यसप्रति कुनै पनि निकाय गम्भीर नभएको उनको बुझाइ छ।

नेपाल प्रहरीका नायब महानिरीक्षक कुवेर कडायत आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताउँछन्। आत्महत्याका घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उनी सुझाउँछन्। आत्महत्यालाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा उनीहरूको जोड छ।

मनोविद् डा. ठगुन्ना आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने बताउँछन्। परिवार वा अरुले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उनको भनाइ छ।

प्रकाशित: Sep 11, 2023| 13:09 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्