रूकुम पश्चिमको एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ परेका छन्। जिल्लाको चौरजहारी नगरपालिका–१ स्थित भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका हुन्।
स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले गत शुक्रबार झुन्डिएर आत्महत्या गरेकी थिइन्। घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहेरी दिएका हुन्। किशोरीले विद्यालय पोशाकमै आत्महत्या गरेकी थिइन्।
शुक्रबार विद्यार्थी गौतमलाई प्रिन्सिपल भाटले विद्यार्थीहरूका अगाडि र कक्षा कोठामा समेत सञ्चालक भण्डारीको उपस्थितिमा कुटपिट गरेको पीडित परिवारको भनाइ छ। प्रिन्सिपलकी भतिजीसँगै मृतक गौतम जाजरकोट घुम्न गएको विषयलाई उठाउँदै प्रिन्सिपल भाटले छात्रा गौतममाथि कुटपिट गरेको पीडित पक्षको आरोप छ।
भतिजीलाई घुमाउन लगेर बिगार्न खोजेको आरोप लगाउँदै प्रिन्सिपलले कक्षा कोठा र त्यसअघि विद्यालय प्रांगणमा पनि कुटपिट गरेपछि छात्रा गौतमले त्यो सहन नसकेर आत्महत्या गरेको परिवारको भनाइ छ।