सोमबार, जेठ २५, २०८३

'मोबाइल एप्स' मार्फत कृषि परामर्श

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

भरतपुर- चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन्। उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन्।

National life

कालिका नगरपालिका-५ का दिपक महतोे बालीमा समस्या देखा पर्दा परामर्श लिन निकै सकस हुने गरेकामा यतिखेर भने एप्सका कारण समस्या नभएको बताउँछन्। उनले घरमै बसेर मोबाइलबाट नै परामर्श लिन थालेका छन्।

'उत्पादित वस्तुको फोटो खिचेर जिओ कृषि एपमा राख्दिन्छौँ, मूल्य र परिमाण पनि त्यसैमा हुन्छ', खुसी हुँदै महतोले भने, 'त्यहाँबाट विषादी कुन हाल्ने, के समस्या देखियो भन्ने सुझाव आउँछ।'

बजार मूल्य पनि त्यही एपमार्फत हेर्ने गर्छन्। मूल्य पाउना साथ एपमार्फत बिक्री गर्दै आएको उनले सुनाए।

'मोबाइलमा एपबाट मूल्य हेर्न पाउने हुँदा विचौलियाले खान पाएका छैनन्', उनले भने, 'बाख्रालाई समस्या पर्दासमेत मोबाइलबाट नै परामर्श लिने गरेको छु।' उहाँका पाँच बाख्रा छन्। विगतमा उनलाई कृषि प्राविधिकसँग भेट्न दिनभरको समय खर्च गर्नु पर्दथ्यो। आजभोलि कृषि प्राविधिकको आवश्यकता नपरेको उनले बताए।

Shivam cement

पदमपुरको दिप सामाजिक उद्यम महिला सहकारी कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएर कुहिने गरेको थियो। अहिले त्यस्तो समस्या छैन। समूहमा आबद्ध तीन सय ५८ महिलाले फलाएको तरकारी तथा फलफूल ‘जिओ कृषि’ नामक मोबाइल एपमार्फत प्रदर्शन गरेर बिक्री गरिरहेको संस्थाकी अध्यक्ष खिमा चौधरीले बताइन्।

सहकारी संस्थाले महिलालाई मोबाइल एप चलाउनका लागि १५ दिनको प्रशिक्षण दिएको थियो। अहिले कृषिसम्बन्धी एप खोजेर मोबाइलमा ‘इन्स्टल’ गर्छन्। उनीहरुले घरबाट नै कृषिसम्बन्धी परामर्श लिन थालेका छन्। मौसम, बीउबिजन, मल खाद, सिँचाइ, बिरुवा उत्पादनलगायत विषयमा जानकारी लिन एप उपयोगी हुने गरेको उनले बताइन्।

सहकारी संस्थामा डिजिटल टिभीसमेत जडान गरिएको छ। त्यहाँ ई चौतारी कार्यक्रम सञ्चालन गरिने संस्थाकी व्यवस्थापक रिना चौधरी बताउँछिन्। 'विज्ञहरुलाई ल्याएर किसानको समस्या समाधान खोज्ने प्रयास गरेका छौँ', उनले भनिन्, 'विज्ञका सुझाव मोबाइल एपमा राख्छौँ।'

कालिका नगरपालिका-५ र २ का महिलाले कृषि एप प्रयोग गर्ने गरेका छन्। प्रविधितर्फ किसानको आकर्षणसमेत बढ्दै गएको जिओ कृषिका कार्यक्रम अधिकृत प्रेम कुँवर बताउँछन्। उनका अनुसार १५ प्रतिशत महिलाले कृषि एपमार्फत सम्पूर्ण जानकारी लिने गरेका छन् भने संस्थाले एप चलाउनका लागि महिलालाई तालिमसमेत दिँदै आएको छ।

यो आधुनिक प्रविधियुक्त स्मार्ट एप हो। त्यसमा किसानले आफ्नो मोबाइलमार्फत बैंकले उपलब्ध गराएको एप्लिकेसन सफ्टवेयर प्रयोग गरी कृषिसम्बन्धी विभिन्न कारोबार सहज, सरल र सुरक्षित तरिकाले गर्न सक्छन्। किसानले मौसम, कृषि सामग्रीको उपलब्धता, कृषिसम्बन्धी कारोबार र कृषि बीमा तथा अनुदानको जानकारी पाउन सक्छन्।

कृषि व्यवसायको प्राविधिक ज्ञान, उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरण सम्बन्धी सूचना र कृषि फार्मका सफल अभ्यासको जानकारी पनि किसान एपबाट लिन सकिन्छ। नगरपालिकाको कृषि शाखामा कृषिसम्बन्धी गतिविधि हेर्न मिल्ने डिजिटल मेसिन राखिएको छ।

उद्यमशिलतामा जोडिनका लागि सो नगरपालिकाका सबै वडाका उद्यमीलाई मोबाइल एप जडान गर्ने प्रयासमा रहेको नगरप्रमुख विनोद रेग्मीले बताए। 'वडा नं ६ र ५ मा डिजिटल स्क्रिनमार्फत कृषिसम्बन्धी जानकारी दिने र उपचारका विषयमा जानकारी दिने गरेका छौँ', उनले भने, '११ वटै वडामा एपको व्यवस्थापन गर्ने प्रयासरत छौँ।'

एपमार्फत महिला उद्यमीलाई जोड्ने योजना रहेको उनले बताए। डिजिटल प्रविधिमा जाँदा समयको बचतका साथै ठगिने सम्भावना कम हुने उनको भनाइ छ।

प्रकाशित: Sep 10, 2023| 22:28 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्