इटहरी– ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेर सुनसरीमा अज्ञात समूहले हतियार लुटेको छ। शुक्रबार मध्यराती सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा खटिएका दुई प्रहरीमाथि आक्रमण गरेर हतियार लुटपाट भएको हो।
सादा पोसाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउन्ड गोली लुटेको प्रहरीले जनाएको छ। सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचना आएपछि सूचना संकलन गर्न गएका प्रहरी नै लुटिएका हुन्।
प्रहरी जवान विमन परियार र प्रेम चौधरीले बोकेका हतियार लुटिएको हो। चार जनाको समूहले प्रहरी लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।
अज्ञात समूहले पछाडिबाट प्रहरीको टाउकोमा चिर्पट प्रहार गरेको थियो। तर प्रतिकार गर्न नसक्दा प्रहरी लुटिएको हो। आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। अर्का प्रहरी पनि घाइते छन्। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।