बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • स्थापनाको १०० वर्ष पुग्यो इन्टरपोल, बहुराष्ट्रिय अपराध चुनौतीपूर्ण

स्थापनाको १०० वर्ष पुग्यो इन्टरपोल, बहुराष्ट्रिय अपराध चुनौतीपूर्ण

सदस्य राष्ट्रबीचका अपराधजन्य चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं समन्वय आवश्यक रहेको प्रधानमन्त्रीको धारणा। 
 |  शुक्रबार, भदौ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

vianetvianet

काठमाडौं– अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद, लागूऔषधलगायत बहुआयामिक अपराध र सदस्य राष्ट्रबीच त्यसमा संलग्नको सूचना आदान–प्रदान गर्न स्थापना भएको इन्टरपोलले शताब्दी दिवस मनाएको छ।

इन्टरपोल स्थापनाको शताब्दी दिवस अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिएअनुरूप प्रहरी मुख्यालय नक्सालमा आयोजित कार्यक्रममा मुख्य अतिथि प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई रहेका थिए।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सदस्य राष्ट्रबीचका अपराधजन्य चुनौतीलाई सम्बोधन गर्न विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरमा सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। 

प्रधानमन्त्री प्रचण्डले डिजिटल युगमा प्रविधिको दुरुपयोगबाट भएका अपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताए।अपराधिक क्रियाकलापलाई प्रभावकारी नियन्त्रण गर्न आपसी सूचना आदान–प्रदान भरपर्दो स्रोत हुनुपर्ने उनले उल्लेख गरे। नागरिकलाई भयबाट मुक्त हुन सक्ने वातावरण सिर्जना गर्न सबै सुरक्षा निकाय मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री प्रचण्डले इन्टरपोलसँगको साझेदारीमा प्रहरीको उपलब्धि र योगदानको स्मरण गर्ने ‘इन्टरपोल कफी टेबल बुक’ थप सहयोगी हुने विश्वास व्यक्त गरे। उनले ‘इन्टरपोल कफी टेबल बुक’ विमोचन गरेका थिए। कानुनी व्यवस्था कायम राख्न, अन्तर्राष्ट्रिय अपराधसँग लड्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीका प्रयास उक्त पुस्तकले प्रदर्शन गरेकामा उनले धन्यवाद दिए।

कार्यक्रममा सरिक उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय अपराध र आतंकवादविरुद्धको विश्वव्यापी लडाईंमा इन्टरपोल अमूल्य साझेदार भएको बताए। अन्तर्राष्ट्रिय अपराध, मानव बेचबिखन, लागूऔषध ओसारपसार र अन्य गैरकानुनी गतिविधिविरुद्ध लड्न प्रहरीलाई इन्टरपोलको साझेदारीले सघाइरहेको उनको धारणा थियो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले  अन्तर्राष्ट्रिय अपराध विरुद्धलड्न अन्तर्राष्ट्रिय समुदायबाट पनि प्रतिबद्धता आवश्यक रहेको बताए। प्रहरी महानिरीक्षक कुँवरले विश्वमा नयाँ सुरक्षा खतरालाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोग महत्त्वपूर्ण रहेको चर्चा गरे। 

कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सञ्चारमन्त्री रेखा शर्मा, राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार शंकरदास बैरागी, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, विभिन्न देशका राजदूत, गृहसचिवलगायत निजामती, सुरक्षा निकायका उच्च पदस्थ अधिकारी सहभागी थिए। सात वटै प्रदेशका प्रहरी प्रमुख भर्चुअलबाट उपस्थित थिए।

प्रकाशित: Sep 08, 2023| 14:22 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्