बुधबार, असार १८, २०८२

आरती साहको न्याय माग्दै माइतीघरमा कपाल मुण्डन

आरतीको घरपरिवारले आत्महत्या गरेको दाबी गरे पनि माइती पक्षले दाइजोको निहुँमा हत्या गरिएको दाबीसहित प्रहरीमा उजुरी दिएको छ।
 |  शुक्रबार, भदौ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

vianetvianet

काठमाडौं- करिब तीन महिनादेखि २२ वर्षीया छोरीको अकाल मृत्युपछि न्याय माग्दै माइतीघर मण्डलालाई दिनरात धर्नास्थल बनाएका परिवारले आज विरोधस्वरुप कपाल मुण्डन गरेका छन्।

माइतीघर मण्डलाको चिसो भुइँमा रात बिताउन बाध्य परिवारलाई गृहमन्त्री, मन्त्रीहरुले छोरी आरतीलाई न्याय दिलाइने पटक–पटक वचन दिए पनि हालसम्म अभियुक्तलाई कारबाही नगरेको भन्दै माइती पक्षले कपाल खौरिएको हो।

आरतीको घरपरिवारले आत्महत्या गरेको दाबी गरे पनि माइती पक्षले दाइजोको निहुँमा हत्या गरिएको दाबीसहित प्रहरीमा उजुरी दिएको थियो। तर, प्रहरी अनुसन्धान फितलो गरिएको आरतीकी आमा निर्मलादेवी बताउँछिन्।
छोरी मार्नेमाथि कारबाही माग्दै आरतीका माइती गत १ असारदेखि माइतीघर मण्डलामा धर्नामा छन्।

आरतीकी आमा निर्मलादेवीसँगै बुबा विनोदप्रसाद, ठूलीआमा रञ्जनादेवी, सानीआमा मीनादेवी, दाइ प्रेम, बहिनी मनिषा, मामा सन्तोष माइतीघर धर्नामा बसिरहेका छन्। धनुषाबाट न्याय माग्न केन्द्रीय राजधानी आइपुगेका उनीहरू चौबीसै घन्टा माइतीघर बसिरहेका छन् तर सरकार न्याय दिन रमिते बनिरहेको छ।

दुई वर्षअघि बिहेबन्धनमा बाँधिएकी आरतीको माइती धनुषाको नगराइन नगरपालिका–८ हो। बिहे हुदा ज्वाइँको घरपरिवारलाई मागेजति दाइजो दिए पनि पछिल्लो समय थप दाइजो मागेर आरतीलाई प्रताडित गरिँदै आएको उनको माइती पक्षले बताएको छ।

आरती गत ७ जेठ बेलुकी साढे ६ बजे थप दाइजो नदिएको रिसमा परिवारै मिलेर कुटपिट गर्दा सख्त घाइते भएपछि जनकपुरको काव्या अस्पताल लगिएको थियो। त्यसपछि निको भएकी उनलाई श्रीमान्, सासू, ससुरा सबै मिलेर शारीरिक यातना दिँदै आएको माइती पक्षको दाबी छ।

आरतीको ३० असार २०७८ मा मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग बिहे भएको थियो। इन्जिनियर ज्वाइँ साहलाई छोरी दिँदा करिब २५ लाख रुपैयाँ खर्च भएको आरतीको परिवारले जनाएको छ।

बिहेपछि आरती परिवारसँगै जनकपुरधाम–८ थापाचोकमा बस्दै आए पनि ६ महिनापछि थप दाइजो माग्दै श्रीमान् र सासू–ससुराले बेलाबेला शारीरिक र मानसिक यातना दिने गरेको छोरीले आफूसँग रुँदै फोनमा कुरा गरेको आरतीकी आमा निर्मलादेवीले बताइन्।

दिनहुँ कुटपिट हुन थालेपछि दुई महिनाअघि माइत आएकी आरती एक महिना बसेर श्रीमान् लिन आएपछि घर गएकी थिइन्। न्याय नपाएपछि कपाल मुण्डन गरेर पीडितका लागि सरकार नभएको वा न्याय मरिसकेको सन्देश दिन खोजिएको आरतीका दाजु प्रेम साह बताउँछन्।

उनले भने, ‘हिन्दु धर्मअनुसार मरिसकेको मान्छेको कपाल खौरिएर श्राद्ध गर्ने चलन छ। हाम्रा लागि न्याय मरेको छ,’ उनले भने। प्रेमसँगै बुबा विनोदप्रसाद र माइती पक्षका दाजुभाइले कपाल खौरिएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेको १० दिन भएको र न्यायका लागि पहल नगरेपछि कपाल खौरिएको उनीहरु बताउँछन्। आरती गत ७ जेठमा धनुषामा आरती साह श्रीमान्कै  घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

प्रकाशित: Sep 08, 2023| 14:19 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्