देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा ६ जना मृत फेला परेका छन्।
प्रहरीका अनुसार कञ्चनपुर, पुनर्वास नगरपालिका-६ स्थित सडकमा सु.प.प्र.०१-००१ह ४०१६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ८६ वर्षीया छली देवी थापाको मंगलबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्की, पोखरा महानगरपालिका-९ नयाँबजारस्थित देउराली गौतम ट्रेडर्सको गोदाममा ग.१ क ३४८६ नम्बरको ट्रकमा ओट लगाउने क्रममा ट्रकले च्यापिएर चालक सोही महानगरपालिका-१७ ढुङगेसाँघु बस्ने ४८ वर्षीय राजु क्षेत्रीको बुधबार बिहान मृत्यु भएको छ। च्यापिएर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।
झापा, गौरादह नगरपालिका-२ धिमधिमेस्थित सडकमा ना.४ ख ३२३८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गौरादह नगरपालिका-३ बस्ने २९ वर्षीया पानबत्ती कर्मकारको बुधबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
मृत फेला
झापा, झापा गाउँपालिका-१ सितुमारीस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीया मन्जली हेमरन मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।
सुनसरी, बराहक्षेत्र नगरपालिका-२ तेह्रआडीस्थित कोशी नदीको बगरमा झापा दमक नगरपालिका-१ घर भई मदन भण्डारी ट्रमा सेन्टर अस्पताल उर्लाबारी मोरङमा कार्यरत ३२ वर्षीय डा. प्रज्वल कोइराला मंगलबार मृत अवस्थामा फेला परेका छन्। गत भदौ ११ गतेदेखि सम्पर्क विहीन भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।
कास्की, पोखरा महानगरपालिका-५ पर्स्याङ चोकस्थित चौरमा धरान घर बताउने ४१ वर्षीय कुमार राई बुधबार मृत अवस्थामा फेला परेका छन्।
लमजुङ, मध्यनेपाल नगरपालिका-३ स्कुलटारस्थित बाटो छेउमा सोही नगरपालिका-४ बस्ने ४७ वर्षीय मधुकर कुमाल बुधबार मृत अवस्थामा फेला परेका छन्।
दाङ, लमही नगरपालिका-२ बनकट्टा बस्ने ५७ वर्षीय गोपाल जिसी सोही ठाउँस्थित घुम्ना कुलोबाँधमा बुधबार मृत अवस्थामा फेला परेका छन्। मंगलबार दिउँसो घाँस काट्न खेतमा गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो।
रामेछाप, मन्थली नगरपालिका-११ पन्थलीस्थित तामाकोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डुबेर मृत्यु
ओखलढुंगा, मोलुङ गाउँपालिका-२ रामपुर बस्ने ७५ वर्षीया रत्न कुमारी विश्वकर्माको सोही गाउँपालिका-२ लामपातेस्थित मोलुङ खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ।
झापा, बुद्धशान्ती गाउँपालिका-१ स्थित बिरीङ खोलाको पक्की कुलोमा डुबेर सोही गाउँपालिका-२ मगर चोक बस्ने १९ वर्षीय मनोज तामाङको मंगलबार दिउँसो मृत्यु भएको छ। नुहाउने क्रममा कुलोमा डुबेर अशक्त भएका उनको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यसैगरी झापा, झापा गाउँपालिका-७ शिवशान्ती टोल बस्ने ४० वर्षीय बिनोद दाहालको सोही ठाउँस्थित सानो माई खोलामा डुबेर बुधबार बिहान मृत्यु भएको छ।
कैलाली, धनगढी उपमहानगरपालिका-१७ दिपनगरस्थित शिवगंगा नदीमा डुबेर गोदावारी नगरपालिका-८ स्याउले बस्ने ७६ वर्षीय रण बहादुर पुन मगरको मंगलबार साँझ मृत्यु भएको छ।