सोमबार, जेठ २५, २०८३

पथलैया-कमला सडक खण्डमा ३० हजारभन्दा बढी रूख काटिने

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

सर्लाही- पूर्व-पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशको पूर्वमा सिरहादेखि पश्चिममा बाराको पथलैयासम्म चार लेनको सडक निर्माणको काम भइरहेको छ। वि.सं २०२१ मा तत्कालीन सोभियत संघको सहयोगमा निर्माण भएको दुई लेनको पूर्व-पश्चिम राजमार्गलाई अहिले विश्व बैंकको लगानीमा स्तरवृद्धि गरेर चार लेनको बनाउने काम सुरु भएको हो।

National life

विश्व बैंकले दिन लागेको ८८ अर्ब रूपैयाँ ऋण सहयोगबाट दुई लेनको पूर्व-पश्चिम राजमार्गलाई चार लेनको सडक निर्माण गर्न सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत एक सय ३० किलो मिटर सडकलाई पथलैया-ढल्के र ढल्के-कमला गरी दुई प्याकेजमा विभाजन गरेर अहिले सडकको साइड क्लियर गर्नेलगायत काम सुरु गरिएको पथलैया-ढल्के-कमला सडक योजना प्रमुख दीपेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार यस योजनाअन्तर्गत निर्माण हुने एक सय ३० किलोमिटर सडक जंगल क्षेत्रमा २७ मिटर चौडा र सहरी क्षेत्रमा ५० मिटरको चौडा रहनेछ।

सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया, निजगढ, चन्द्रनिगाहपुरलगायत सात स्थानमा सार्वजनिक सुनुवाइ गर्नाका साथै स्थानीयवासीको राय, सुझावसमेत लिएर काम सुरु गरेको उनले बताए। बस्ती र सहरी क्षेत्रमा ५० मिटर लिइने जग्गामा चार लेनको सडकसँगै नाला, सडकपेटीसहित साइकल लेनसमेत निर्माण गर्ने गरी कार्यहरू सुरु भइसकेको र अन्य स्थानहरूमा सडकको दुवैतर्फ सडक निर्माण गरिने आयोजनाले जनाएको छ।

एउटा लेन तीन दशमलव पाँच मिटरको हुने, सडकको दुवै छेउमा रूखबिरुवा तथा फूल रोपिने र दायाँबायाँ साढे दुई मिटर अतिरिक्त कालोपत्र गर्ने योजना रहेको डीपीआरमा उल्लेख छ। सडकमा गुड्दै गरेको सवारी साधन बिग्रिए त्यसलाई पार्किङ गर्न सक्ने व्यवस्थासमेत गरिने आयोजना प्रमुख पाण्डेले बताए।

यस सडकखण्डमा रहेको बागमती र कमला नदीको पुलबाहेक सानाठूला गरेर ७२ वटा पुलहरू पनि निर्माण हुनेछन्। साइकल लेन र फुटपाथ छोपिने गरी नाला रहने उक्त सडकको सब बेस २० सेन्टिमिटर र माथिल्लो फिनिसिङ लेबल १४ सेन्टिमिटर रहने डीपीआरमा उल्लेख छ। हाल सञ्चालनमा रहेको कज वे हटाएर आवश्यक स्थानमा बक्स कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ।

Shivam cement

पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जंगली जनावरका लागि ‘एनिमल पास ब्रिज’ पनि निर्माण गर्ने योजना सडक विभागको छ। विद्युत्, पानी, नेटवर्कको पाइपलाइन र वातावरण संरक्षणको विविध पक्षमा अध्ययन गरी डिजाइन तयार गरिएको आयोजनाका प्राविधिकहरुको भनाइ थियो। सडक सीमाभित्रको संरचना हटाउने, रूख कटान गर्ने, पोल सार्ने, कजवे बनाउनेलगायत काम सडक विभागले अगाडि बढाइसकेको छ।

यस राजमार्ग पथलैयादेखि कमला खोलासम्मको एक सय ३० मिटर लामो दुई लेनको सडकलाई स्तरवृद्धि गरेर चार लेनको बनाउन ठेक्का लगाइएको सडक विभाग वैदेशिक सहायता महाशाखाका एसडीई बन्दना आचार्यले बताइन्। उनका अनुसार विश्व बैंकको ऋण सहयोगमा सडकलाई चार लेन बनाउन लागिएको हो। तीस हजार आठ सय ७१ सानाठूला रूख कटान गर्ने, प्रतिरूख दश वटाका दरले तीन लाख आठ हजार दुई सय ७० वटा बिरुवा रोपिने विभागले जनाएको छ।

चार लेन सडकका रूपमा विकास गर्न लागिएको यस राजमार्गमा लामो तथा छोटो दुरीका गरी दैनिक हजारौँ संख्यामा सवारी साधन आवतजावत हुने गर्छन्। करिब ६० वर्ष पहिला निर्माण गरिएको पूर्व-पश्चिम राजमार्ग सवारी साधनको चापले साँघुरो हुनाका साथै  दुर्घटनाको कारण बर्सेनि ठूलो संख्यामा भइरहेको मानवीय क्षति कम गराउन वर्षौँदेखि विज्ञहरूले सडक चौडा पार्ने सुझाव दिँदै आएकाले अहिले राजमार्ग विस्तारको काम सुरु भएको हो।

प्रकाशित: Sep 06, 2023| 21:41 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्