शुक्रबार, वैशाख २१, २०८१

देउवापछि कांग्रेस सभापतिको दौडमा को-को ?

कांग्रेसमा सभापति देउवा तेस्रो पटक उम्मेदवार नबन्ने निश्चित भएपछि ७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसमा देउवापछि पार्टी सभापति को बन्ने भन्ने विषय पेचिलो बन्दै गएको हो।
 |  बुधबार, भदौ २०, २०८०

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

बुधबार, भदौ २०, २०८०

काठमाडौं- मुलुकका हरेक राजनीतिक आन्दोलनको नेतृत्वकर्ता नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवापछि कसले नेतृत्व गर्छ भन्ने बहस सुरु भइसकेको छ। नेपाली कांग्रेसको विधानको धारा ५७ अनुसार सभापति शेरबहादुर देउवा फेरि पार्टी सभापतिमा उम्मेदवार बन्न नपाउने भएपछि नेताहरुले नेतृत्वका लागि कसरत सुरु गरिसकेका छन्।

triton college

पार्टीको केन्द्रीय समिति र महासमितिमा बहुमत भएका सभापति देउवाले विधान संशोधन गरेर तेस्रो कार्यकाल पनि काम गर्न सक्ने आशंकालाई पनि हटाइदिएका छन्। उनले गत जेठ २६ गते चितवनमा आयोजित डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको ११ औं महाधिवेशन उद्घाटन समारोहमा आफू तेस्रोपटक उम्मेदवार नबन्ने प्रष्ट्याएका हुन्।

पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला र संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापा उपस्थित कार्यक्रममा सभापति देउवाले भने, ‘सभापति लड्ने साथीहरु नडराए हुन्छ। अब सभापति लड्दिनँ। एमालेले उमेर हद हटाइसक्यो। हामीकहाँ उमेर हद त छैन तर तेस्रोपटक सभापति लड्न पाइँदैन। साथीहरु नडराउँदा हुन्छ।’

कांग्रेसमा सभापति देउवा तेस्रो पटक उम्मेदवार नबन्ने निश्चित भएपछि ७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसमा देउवापछि पार्टी सभापति को बन्ने भन्ने विषय पेचिलो बन्दै गएको हो। हाल कांग्रेसका सभापति देउवाको विकल्प खोज्नुपर्छ भन्दै महामन्त्री गगन थापा लागिरहेका छन्। थापाको समूहले १४ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालालाई देउवासँग मिलेको आरोप लगाएको छ। उनीहरु दुवैलाई १५ औं महाधिवेशनमा सभापतिका सम्भावित उम्मेदवारका रुपमा हेर्न थालिएको छ।

त्यसैगरी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएर दोस्रो चरणमा देउवालाई नै सहयोग गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधि, सभापतिमा उम्मेदवारी नदिएर देउवालाई समर्थन गरेका शशांक कोइराला र देउवा समूहकै उपसभापति र हाल सरकारमा कांग्रेसको नेतृत्व गरिरहेका पूर्णबहादुर खड्कालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ।

corrent noodles
Metro Mart

शेखर-गगन सम्बन्ध र सम्भावना
१४ औं महाधिवेशनमा एउटै टिम बनाएर निर्वाचमा होमिएका शेखर कोइराला र गगन थापाबीचको दूरी बढेको छ। सभापति देउवा र इतर समूहका नेता शेखर कोइरालाको भेटघाट बाक्लिएपछि सभापतिका उम्मेदवार कोइराला र महामन्त्री थापाबीचको दूरी बढ्दै गएको हो। नेतृत्वविरुद्ध र जसले आफूलाई लिफ्ट दियो त्यसैको विरोध गर्दै अघि बढ्नै शैली अपनाएका महामन्त्री थापाले आगामी पार्टी सभापतिमा आफैं उम्मेदवार बन्ने गरी तयारी थालेको देखिन्छ।

तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले थापालाई नेपाल विद्यार्थी संघको महामन्त्री र पछि समानुपातिक सांसद बनाएका थिए। पार्टीको १२ औं महाधिवेशनमा भने उनै कोइरालाको विरोध गर्दै थापा भीमबहादुर तामाङ र नरहरि आचार्यको पक्षमा देखिए।

१२ औं महाधिवेशन सम्पन्न नहुँदै गिरिजाप्रसादको निधन भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी सुशील कोइरालाले सम्हाले र सभापतिका उम्मेदवार पनि भए। तर थापा भने कोइरालाविरुद्ध क्रमशः सभापति र महामन्त्री उठेका तामाङ र आचार्यको पक्षमा देखिए। त्यहीबेला थापा कांग्रेस केन्द्रीय समितिमा भारी मतले विजयी पनि भए।

shekhar_koirala gagan_thapa congress1691769385.jpg
शेखर कोइराला र गगन थापा

१३औं महाधिवेशनको पूर्वसन्ध्यामा सुशील कोइरालाको निधन भयो र कार्यवाहकको जिम्मेवारी रामचन्द्र पौडेलले सम्हाले। पछि रामचन्द्र नै सभापतिको उम्मेदवार बने तर थापा भने पूर्वमहामन्त्री कृष्ण सिटौलाको समूहबाट १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भए। जित भने हासिल गर्न सकेनन्।

सभापति वा अन्य पदाधिकारी विजयी हुन ५१ प्रतिशत मत अनिवार्य चाहिने भएकाले तेस्रो स्थानमा सीमित भएका सिटौला र थापा समूहले अन्ततः देउवाको पक्षमा मतदान गर्ने निर्णय गर्यो। त्यो निर्णयसँगै थापाले पौडेलविरुद्धका उम्मेदवार देउवालाई मतदान गरिदिए।

१३औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थापासमेतको मतले देउवा सभापतिमा विजयी भए, पौडेलले पराजय भोग्नुपर्यो। सोही गुनको बदलामा सिटौलाको सिफारिसमा सभापति देउवाले थापालाई तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सुम्पे।

तर, २०७४ मा भएको पहिलो संघीय आम निर्वाचनपछि पुनः थापाको गुट परिवर्तन भयो। सो निर्वाचनपछि कांग्रेस संसदीय दलको निर्वाचनमा सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह उम्मेदवारको रुपमा देखा परे। तर, देउवाले मन्त्री बनाएका थापाले सिंहको पक्षमा मतदान गरे। संसदीय दलको निर्वाचनमा सिंहलाई मत दिएका उनै थापा कांग्रेस काठमाडौंको अधिवेशनमा भने सिंहविरुद्ध उभिए।

१४औं महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सिटौला पनि एक हुन्। तर, १३औं महाधिवेशनमा सिटौलाका महामन्त्री उम्मेदवार भएका थापा शेखर कोइराला समूहमा लागे। तर, संसदीय दलको निर्वाचमा भने शेखरलाई उछिन्दै देउवाविरुद्ध उम्मेदवारी दिए।

संसदीय दलको उम्मेदवार दिनुअघि बसेको शेखर समूहको बैठकमा थापाले आफूले त्यसपछिको नेतृत्वको निर्वाचनमा शेखरलाई सघाउने वचन दिएको उनकै समूहका नेताहरुले बताउने गरेका छन्। तर, गगनका गतिविधि र उनको प्रवृत्तिबाट झस्किएपछि भने शेखरले देउवासँगको सम्बन्धलाई सुमधुर बनाउन लागिरहेका छन्।

पछिल्लो समय अर्जुननरसिंह केसीको घरमा बसेका अनौपचारिकबाहेक शेखर समूहको बैठक बस्न सकेको छैन। संस्थापन इतर समूहका एक नेताका अनुसार शेखर देउवासँग मिलेको, संघ र प्रदेशका मन्त्रीहरु बनाउँदा पनि आफूसँग नसोधिएको लगायत विषयमा थापाको असन्तुष्टि छ। जसले गर्दा थापाले १५ औं महाधिवेशनमा आफू नै सभापतिको उम्मेदवार बन्ने गरी तयारी गरिरहेका छन्। 

उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई साथमा लिएर अघि बढ्न खोजेको देखिन्छ। शर्मा भने शेखरभन्दा पार्टी उपसभापति पूर्णबहादुर खड्कासँग निकट छन्। यसले पनि शेखर झस्किएका छन्। अर्कोतिर दलको नेताको उम्मेदवारभन्दा पछि शेखरलाई सहयोग गर्ने वचन दिएका थापाले गत साउनमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा भने, ‘मैले संसदीय दलको नेता परिवर्तन गर्न खोजेको हुँ, सकिनँ। तर म अब पनि लागिरहन्छु। संसदीय दल नेता फेर्न विधानअनुसार बकाइदा मिल्छ। तर सांसदको भोट पाउन गाह्रो छ भन्ने कुरा मलाई थाहा छ। तर, म प्रयास भने गरिरहन्छु। गाह्रो काम भनेर छाड्दिनँ।’

२०७९ पुस ५ गते बसेको संस्थापन इतर समूहको बैठकमा पछि दलको नेता वा पार्टी सभापतिमा शेखरलाई अघि सार्ने बताएका थापाले अहिले बोली फेर्न थालेको र शेखरलाई बाइपास गर्न थालेको महसुस भइरहेको संस्थापन इतर समूहकै एक नेताले बताए। उनले भने, ‘गगन थापाले संसदीय दलमा उम्मेदवारी दिइसकेपछि आफ्नो पक्षमा माहोल बनिरहेको देखर पनि हुन सक्छ, बोली फेर्नुभएको छ। उहाँले आफ्ना असन्तुष्टिहरुलाई समूहको बैठक बोलाएर राख्नुको साटो दूरी बढाउँदै जानुभएको छ।’

यसले १५ औं महाधिवेशनमा शेखर र गगन एकै ठाउँमा रहन्छन् भन्ने स्थिति नबनेको उनको बुझाइ छ। यद्यपि आफूहरु दुवै नेतालाई मिलाएर शेखरलाई सभापति र गगनलाई सेकेण्ड म्यान बनाउने गरी अघि बढ्नुपर्छ भनेर लागिरहेको पनि उनले बताए। उनले थपे, ‘हामीले शेखर र गगन छुट्टिएर अघि बढेमा दुवैको पराजय हुन्छ र मिलेर जाँदा सहज जित हुन्छ भन्ने आकलन गरेर नै मिलाउन लागिरहेका छौं। दुवै नेताले सार्वजनिक मञ्चमा बोल्दा पनि यस विषयलाई ख्याल गरिदिन आग्रह गरिरहेका छौं, चाँडै समूहको बैठक बस्ने गरी तयारी भइरहेको छ।’

१५ औं महाधिवेशनमा शेखर स्वाभाविक सभापतिको उम्मेदवार भएकोले गगनले सहयोग गर्नुपर्ने उनको भनाइ छ। अहिले आफूहरु दुवै नेतालाई मिलाउन लागिरहेको र आफूले पनि दुवै नेतासँग रहेर काम गरिरहेकोले नाम नखुलाउन उनले आग्रह गरे।

तर, गगन निकट एक नेताले भने राजनीतिमा अरुलाई दिने भन्ने कुरा भन्दा पनि आफूले गर्ने गतिविधि र समयको मागअनुसार अघि बढ्ने व्यक्ति नै नेतृत्वमा पुग्ने बताए। उनले भने, ‘गगन थापा पार्टीको महामन्त्री हो, संसदीय दलमा उम्मेदवार बनिसक्नु भएको छ। पार्टीले युवा नेतृत्व खोजिरहेको र देशभर संगठन बनाउनु भएकोले पनि गगन थापा १५ औं महाधिवेशनपछि पार्टीको नेतृत्व गर्ने गरी तयारी गरिरहनु भएको छ।’

यसअघि सांसद सुनिल शर्मा पक्राउ पर्दा एक ठाउँमा देखिएका शेखर–गगनको सम्बन्ध र सहकार्य पातलिँदै गइरहेकोले आगामी महाधिवेशनमा सँगै रहने सम्भावना कम रहेको सोही समूहका नेताहरुको आकलन छ। यसअघि कान्तिपुर टेलिभिजनको टफ टक कार्यक्रममा दिएको अन्तर्वार्तामा आफैंले शेखर कोइराला र देउवा मिलेको इम्प्रेसन बनेको स्वीकार गरेका छन्। विगतमा देउवाविरुद्ध खरो उत्रिएका शेखरले भने, ‘कोइरालाले कसैलाई गाली नगर्ने हाम्रो संस्कृति हो। शेरबहादुर पार्टीको सभापति हो। उहाँसँग नमिलेर बोल्दै नबोलेर कसरी पार्टी चल्छ ?’

उनले यसअघि आफ्नै कारण ४० प्रतिशत मत आएको हुँदा ६० प्रतिशत पुर्‍याउन लागिरहेको उल्लेख गर्दै १५ औं महाधिवेशनमा आफू नै सभापतिको उम्मेदवार भएको र गगनको समर्थन रहने विश्वास व्यक्त गरे।

देउवा र शेखर–शशांक
वीपीका विश्वास पात्र र कृष्णप्रसाद भट्टराईका उत्तराधिकारीको रुपमा देखिएका देउवा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँग प्रतिस्पर्धामा पराजित भए। पार्टीमा सुशीलको निधनपछि समूहको नेता बनेका रामचन्द्र पौडेल र शेखर कोइरालासँग प्रतिस्पर्धा गर्दै दुई पटक पार्टी सभापति बने। अब देउवाले पार्टी सभापतिमा उम्मेदवार कसलाई बनाउँछन् भन्ने यकिन दृश्य देखिएको छैन।

विगतमा वीपीले नै देउवालाई राजनीतिमा ल्याएकोले त्यसको गुन तिर्नका लागि शशांकलाई अघि सार्छन् कि भन्ने विश्लेषणसमेत भइरहेको छ। जसले गर्दा देउवा समूहकै केही नेताहरुले विगतमा कोइरालाबाट लडेर परिवारवाट मुक्त गराएको पार्टी फेरि कोइराला परिवारमा नै फर्काउँछन् भन्ने आशंका व्यक्त गरिरहेका छन् भने शेखर समूहका केही नेताहरुलाई झिनो आशा देखिन्छ। १३ औं महाधिवेशनमा देउवाकै साथ पाएर महामन्त्रीमा जित हात पारेको भनिएका शशांक कोइरालाले १४ औं महाविधेशनमा देउवालाई समर्थन गरेका थिए।

१४ औं महाधिवेशनमा दाजुभाइबीचको द्वन्द्वका कारण शेखर, शशांक र सुजाता एक ठाउँमा उभिन सकेनन् र त्यसको प्रत्यक्ष लाभ देउवालाई भयो। अहिले पनि शशांक देउवा निकट रहेका देखिन्छन् भने शेखरले सम्बन्ध सुधार गरिरहेका छन्। १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका शेखरलाई हाल देउवासँग मिलेको आरोप लागिरहँदा समूहभित्रै असन्तुष्टि सिर्जना भइरहेको छ।

पार्टीको पाँचौं महाधिवेशनमा पनि वीपी र मातृका दाजुभाइबीचको द्वन्द्वले पार्टीमा आन्तरिक किचलो पैदा भएको थियो। अहिले पनि आफू पार्टी सभापति बन्नका लागि कोइरालाहरु नै भिडिरहेका देखिन्छन्। देउवाको समर्थन शेखरलाई हुने र शेखरका निम्ति बलियो प्रतिस्पर्धी नभएको आकलन भइरहँदा डा. शशांकले भने १५ औं महाविधेशनमा आफू सभापति बन्ने र त्यसको तयारी गरिरहेको बताइरहेका छन्। 

शशांकले कांग्रेस बुझेको र कांग्रेसलाई हाँक्न सक्ने व्यक्ति सभापति हुनुपर्ने बताउँदै वर्षा सकिएसँगै देश–दौडाहा गर्ने योजनामा छन्। उनले भने, ‘म सभापतिको आकांक्षी मात्र हुँ। वर्षा रोकिएसँगै ७७ जिल्लामा पुग्नेछु। जिल्लाका नेता कार्यकर्ता साथीहरुसँग भेट्नेछु। त्यसपछि सबैले अघि बढ् भने सभापतिको उम्मेदवार हुन्छु। होइन सभापतिमा हुँदैन भने भने म ‘ब्याक’ बस्छु।’

deuwa_shekhar_congress1680251811.png
शेरबहादुर देउवा र शेखर कोइराला

उनले शेखर र सुजातासँग पनि आफूलाई समर्थन गर्नका लागि आग्रह गर्ने बताइरहेका छन्। ‘म केही दिनभित्रै शेखर दा र सुजातासँग छलफल गर्ने तयारीमा छु। हामी यसरी कुरा गर्नेछौं कि हाम्रोबीचमा भएका समझदारी कसैले तोड्न सक्नेछैन। जे निर्णय गर्दा पनि समझदारीमा गर्नेछौं।’

संस्थापन इतर समूहका नेता प्रकाश रसायलीले पार्टी सभापति देउवा निकै चतुर राजनीतिज्ञ भएको उल्लेख गर्दै भने, ‘पार्टी सभापतिज्यूले आफूपछि तपाईं बन्नुपर्छ भनेको भए पनि उहाँले फेरि कोइरालालाई समर्थन गरेर पार्टी सभापति बनाउनुहुन्छ भन्नेमा मलाई विश्वास छैन। यहाँ विभाजन सिर्जना गरेर आफ्नै समूहका नेताको सहज जितको वातावरण तयार गरिरहनुभएको जस्तो देखिन्छ।’

१४ औं महाधिवेशनमा गगनलगायत नेताहरु मिलेर नै आफूलाई बाइपास गरेकोले देउवासँग मिल्न बाध्य भएको महसुस शशांकले गरिरहेको उनी निकट एक नेताले बताए। ती नेताका अनुसार गगनले जुनसुकै समयमा पनि धोका दिन सक्ने भएकोले शेखर र आफू मिलेर जाँदा बलियो हुने भएकाले सल्लाह गरेर अघि बढ्ने र विगतको गल्ती नदोहोर्‍याउने मुडमा शशांक रहेका छन्। पार्टीमा गुटगत राजनीति महाधिवेशनको समयमा मात्र हुनुपर्ने भए पनि अहिले भने सभापति र महामन्त्रीकै द्वन्द्व देखिएकोले यसले पार्टीलाई फाइदा नगर्ने शशांकको बुझाइ छ।

देउवाको साथ खोजिरहेका शशांक, प्रकाशमान र विमलेन्द्र
१४ औं महाधिवेशनको संघारमा तत्कालीन महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र तत्कालीन पार्टी उपसभापति विमलेन्द्र निधिबीच पटक–पटक वार्ता भयो। वीपी, गणेशमान र महेन्द्रनारायण निधिका पुत्रत्रय राजनीतिक सहकार्यका लागि अग्रसर भएपछि कांग्रेसमा नयाँ तरंग सिर्जना भएको थियो।

नेतात्रयले गरेका वार्ताहरुमा पनि तीनैजना मिलेर जाने र तीनमध्ये एकजनाले मात्रै पार्टी सभापतिमा उम्मेदवारी दिने र बाँकी दुई समर्थन गर्ने सहमति भएको बताइएको थियो। तर, महाधिवेशनको उम्मेदवारी दर्ता हुने स्थितिसम्म पुग्दा प्रकाशमान सिंह र विमलेन्द्र निधिले आ–आफ्नो उम्मेदवारी दर्ता गराए भने शशांकले देउवालाई सहयोग गरे।

महाधिवेशनको पहिलो चरणमा सभापतिमा कसैले पनि जितका लागि आवश्यक ५१ प्रतिशत मत पुर्‍याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भयो। पहिलो चरणमा तेस्रो बढी मत ल्याएका प्रकाशमान सिंह र चौथो बढी मत ल्याएका विमलेन्द्र निधिले देउवालाई समर्थन गरे र शेखर कोइराला पराजित हुन पुगे।

bimalendra nidhi1678957527.jpg
विमलेन्द्र निधि

त्यस समयमा प्रकाशमानलाई सहयोग गर्ने देउवाले वचन दिएपछि उनले देउवालाई सहयोग गरेको आरोप लागेको थियो। यद्यपि सिंह भने आफूले देउवालाई निशर्त सहयोग गरेको बताइरहेका छन्। महाधिवेशनमा रामचन्द्रले प्रतिस्पर्धा नगर्ने भएपछि सिनियरको हिसाबले समूहबाट आफू सभापतिको उम्मेदवार बन्नुपर्ने भए पनि त्यसो हुन नसकेकोले देउवालाई समर्थन गर्न पुगेको उनले आन्तरिक छलफलहरुमा बताउने गरेका छन्। उनले १५ औं महाधिवेशनमा के गर्नुहुन्छ भन्ने प्रश्नमा अहिले समय बाँकी भएकाले त्यस विषयमा हतार नगरेको प्रतिक्रिया दिएका छन्।

यता विमलेन्द्र निधि भने महाधिवेशनमा समर्थन गरेपछि देउवासँगै मिल्न पुगेका छन्। उनले आगामी महाधिवेशनमा देउवाको साथ खोजिरहेका छन्। १४ औं महाधिवेशनमा एक ठाउँमा उभिन नसकेका तीनै जनाले १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरे पनि पार्टीमा पकड भएका सभापति देउवाको साथबिना जित्न नसकिने आकलनसहित देउवासँगको सहकार्य र सहयोगलाई बढाइरहेका छन्।  

पूर्णबहादुर बन्लान् त देउवाको उत्तराधिकारी ?
पार्टी सभापति देउवा समूहभित्रै पनि सभापतिको स्वाभाविक आकांक्षी पूर्णबहादुरलाई हेरिएको छ भने अघिल्लो महाधिवेशनमा पनि आकांक्षा व्यक्त गरेका गोपालमान श्रेष्ठ पनि इच्छुक छन्। पार्टीको गत साउनमा सम्पन्न केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पाउनुपर्ने माग गरेका श्रेष्ठसँग संगठनमा प्रभाव र पकड बलियो छैन।

देउवा समूहकै उत्तराधिकारीको रुपमा हेरिएका बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणको अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। यसले गर्दा देउवा समूहभित्र पार्टी सभापतिको स्वाभाविक उम्मेदवारको रुपमा पूर्णबहादुर खड्का देखिएका छन्। पार्टीको तल्लो तहबाटै राजनीतिमा आएका र पार्टीको उपसभापति र सरकारमा उपप्रधानमन्त्री भएकाले पनि संगठनमा उनको प्रभाव रहेको देखिन्छ।

कृष्णप्रसाद भट्टराईका उत्तराधिकारी देउवाले भट्टराईसँगै रहेर काम गरेका पूर्णबहादुरलाई नै सभापतिमा अघि सार्ने नेपाल प्रेस युनियनका निवर्तमान अध्यक्ष बद्री सिग्देलको विश्लेषण छ। उनले भने, ‘आगामी महाधिवेशनमा देउवाको उत्तराधिकारी उपसभापतिसमेत रहनुभएका पूर्णबहादुर नै हुने देखिन्छ। विगतमा पार्टी विभाजनका समयमा पनि साथ दिनुभएका पूर्णबहादुर पार्टीको महामन्त्री, उपसभापति र हाल उपप्रधानमन्त्री बन्नुभएको अनुभव पनि छ र समूहमा सिनियर पनि हुनुहुन्छ। दुवै नेता किसुनजीका उत्तराधिकारी र अनुयायी पनि हुनुहुन्छ।’

यद्यपि पार्टीमा शेखर र देउवा नजिकिएपछि भने उपसभापति खड्का झस्किएका छन्। उनले पनि गोप्य रुपमा शेखरसँग असन्तुष्ट रहेको गगन र देउवासँग असन्तुष्ट रहेका विश्वप्रकाशसँग विभिन्न मुद्दामा छलफल गर्ने गरेका छन्। यो छनक पाएका सभापति देउवाले पनि हालसम्म सभापतिमा समर्थन गर्ने वचन खड्कालाई दिइसकेका छैनन्। सभापति देउवालाई पार्टीमा आरजुलाई सेटल गराउनुपर्ने अर्को बाध्यता रहेको छ। जुन समूहमा आरजुको जित सुनश्चित हुन्छ त्यसै समूहलाई देउवाको समर्थन रहने पनि एकथरी नेताहरुको आकलन छ।

Purna-Bahadur-Khadka-768x51216774752541677475424.jpg
पूर्णबहादुर खड्का

कांग्रेस नेता प्रकाश रसायली भने देउवाको समर्थन नै भए पनि जुन समूहमा आरजु उम्मेदवार बन्यो, त्यो समूहको हार निश्चित भएको बताउँछन्। उनले भने, ‘देउवा समूहमा पनि मतैक्यता देखिँदैन। आज पार्टी सभापति र संसदीय दलको नेता अनि निकट भविष्यमा प्रधानमन्त्री बन्ने लाइमा रहेका देउवालाई आज जुन रुपमा उनकै समूहका नेताहरुले मासिरहेका छन्। भोलि पार्टी सभापति नरहँदा यो स्थितिमा आकाश-जमिनको फरक हुन्छ। सबैले आफ्नो राजनीति गर्नुपर्छ, जिन्दगीभर देउवाकै लागि त पछि पर्न सक्दैनन् नि नेताहरु।’

तर, कांग्रेसलाई बुझेका विश्लेषक सिग्देलको भने फरक धारणा रहेको छ। उनी भन्छन्, ‘दुई कार्यकाल पार्टीको नेतृत्व गर्नुभएको, हिजो कोइरालासँग भिडेको र पाँच पटक प्रधानमन्त्री भइसकको शेरबहादुर देउवासँग पार्टीभित्र बलियो होल्ड छ भन्ने कुरा त हालको केन्द्रीय समितिले पनि पुष्टि गरेको छ। यति बलियो संगठन बनाएको नेताको समर्थन बिना कोही पनि सभापतिमा जित हात पार्न सक्नुहुन्नँ। देउवा निवासको एक मुठी माटो नै भए पनि साथमा लिएर हिँडेको समूहले आगामी महाधिवेशनमा जित हात पार्छ।’

देउवा निकट एक केन्द्रीय सदस्य भने हाल कांग्रेस आन्तरिक विनिर्माणको अवस्थामा रहेकोले सभापतिमा उम्मेदवार को बन्छ भन्ने क्लियर पिक्चर आइनसकेको बताउँछन्। देउवापछि सभापति खड्का समूहको नेता हो नि भन्ने प्रश्नमा उनले भने, ‘हालको संरचनामा पार्टी उपसभापति हो, त्यसमा शंका नै छैन। तर, उपसभापति खड्काले सिंगो देउवाको विरासतलाई थेगेर जान सक्ने धरातल बनाउनु भएको छ कि छैन भन्ने प्रश्न पनि छ। हाल गुटहरु भत्किने र पुनर्निर्माण हुने प्रक्रिया चलिरहेकाले खड्का नै देउवाको उत्तराधिकारी वा आरजु वा अर्को कोही भन्न सक्ने अवस्था बनिसकेको छैन।’
- अन्नपूर्ण एक्सप्रेसमा प्रकाशित सामग्रीको सहयोगमा

प्रकाशित: Sep 06, 2023| 09:05 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्