सोमबार, जेठ २५, २०८३

सीपले बनायो आत्मनिर्भर

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

बागलुङ- चार महिना पहिलेसम्म जमुना परियार नेपालीको हातमा सीप थिएन। घरमा बालबच्चाका लागि चाहिने खर्च, घरखर्च र आफ्नो लागि आवश्यक खर्चसमेत उनका श्रीमान् एक्ला स्रोत थिए। स-साना कामका लागि श्रीमानसँग पैसा माग्न जमुना अप्ठेरो मान्थिन्। अहिले आफ्ना लागि आवश्यक खर्च जमुना आफै कमाउँछिन्।

National life

बागलुङ बजारको एक टेलरिङ सेन्टरमा काम गरिरहेकी जमुना सीप सिकेपछि आत्मनिर्भर भएकी हुन्। उनको अहिले मासिक कमाइ हुन्छ। आफ्नो, बालबच्चा र घरको खर्च चलाएर जमुना बचत गर्ने भएकी छिन्।

'आफ्नो कमाई हुँदा र नहुँदा धेरै फरक हुँदोरहेछ, चार महिना खर्चेर सिकेको सीपले मलाई आत्मनिर्भर बनाएको छ', जमुना भन्छिन्, 'मैले अरू धेरै दिदीबहिनीलाई काम सिक्न र थोरै भए पनि कमाउन सकिन्छ भन्ने गरेकी छु।'

उनले सीपले आम्दानीको जग बसालेको बताइन्। जमुनाले धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डीआईआरडीसी) बाट चारमहिने टेलरिङ तालिम लिएकी हुन्। तालिमपछि उनलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सीप परीक्षा लिएर प्रमाणपत्र दिएको छ। त्यही प्रमाणपत्रले उनलाई जागिर पाउन सहज भएको छ भने चार महिना सिकेको सीपले काममा सघाएको छ।

जमुनाजस्तै ‘डिआइआरडिसी’बाट तालिम पाउने कैयौँ महिलाहरुको जीवनमा परिवर्तन आएको छ। लामो समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट सम्बन्धन लिएर विभिन्न सीपमूलक तालिम चलाइरहेको सो संस्थाले कैयौँ युवाहरुलाई स्वरोजगारसँग जोडेको छ। विसं २०७४ देखि सीप कक्षा सुरु गरेको उक्त संस्थाले वर्षमा दुई पटकमा कक्षाहरु सञ्चालन गर्दै आएको छ।

Shivam cement

चालु वर्षको पहिलो सत्रमा पाँच सय ६३ जनाले सीप सिकेका छन्। एक सय ४३ जनाले प्लम्बर, ६५ जनाले विद्युत् जडान, दुई सय ५५ जनाले टेलरिङ र एक सय एक जनाले ग्रिलसम्बन्धी सीप सिकेका छन्।

'सीप सिकेका धेरैले राम्रो गर्नुभएको छ, कैयौँ युवाहरु रोजगारीसँग जोडिनुभएको छ, कैयौँले स्वरोजगारमुलक व्यवसाय थाल्नुभएको छ', सो संस्थाका कार्यक्रम संयोजक शालिग्राम शर्माले भने, 'विदेश जानेहरुलाई तालिमले निकै सहयोग गरेको छ।'

सोमबारदेखि छैटौँ ‘ब्याच’को दोस्रो सत्रका लागि तालिम सुरु भएको छ। तालिममा ७२ युवायुवती सहभागी छन्।

प्रकाशित: Sep 05, 2023| 21:02 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्