शुक्रबार, साउन ८, २०८३

चीनको नयाँ नक्सामा पाँच छिमेकीको असन्तुष्टि

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

हङकङ- चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन्। चीनको प्राकृतिक संशाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट बनेका हुन्।

नयाँ नक्साबाट दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)का पाँच सदस्य मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम र ब्रुनाईले असन्तुष्टि जनाएका छन्। यी देश दक्षिण चीन सागरमा चीनको अत्यधिक क्षेत्रीय दाबीलाई लिएर विवादमा छन्।

नक्सासम्बन्धी समस्या हुन नदिन नयाँ नक्सा जारी गरिएको बेइजिङले स्पष्ट पारेको छ। तर, पाँचै देशले सार्वजनिक वक्तव्य जारी गरेर चीनको आलोचना गरेका छन्। इन्डोनेसियाको राजधानी जकार्तामा जारी आसियान शिखर बैठकमा पनि चीनको आलोचना गरिएको छ।

गएको साता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले ‘आधिपत्यवाद चीनको डीएनएमा छैन’ भने पनि नयाँ नक्साबाट उक्त भनाइको खण्डन भएको आसियान नेताहरूले बताएका छन्।

'फिलिपिन्सले चीनको मानक नक्साको २०२३ संस्करणलाई अस्वीकार गर्छ। फिलिपिन्सका विशेषता र सामुद्रिक क्षेत्रमा चीनको कथित सार्वभौमसत्ता र क्षेत्राधिकारलाई वैधानिक बनाउने यो पछिल्लो प्रयासको अन्तर्राष्ट्रिय कानुन, विशेष गरी सन् १९८२ को संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गत कुनै आधार छैन,' मनिलाले एक वक्तव्यमा भनेको छ। -रासस

प्रकाशित: Sep 05, 2023| 16:41 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्