गोरखा–सुनका गरगहना चोरी आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेंसीसहरकी सुजा घिमिरे रहेको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार केही दिनअघि बेंसीसहर नगरपालिका–७ को क्याम्पस रोड र न्यू इरा बोर्डिङ स्कुल नजिकै रहेका सुन पसलबाट करिब २३ तोला बराबरका सुनका विभिन्न गहना चोरी भएका थिए।
चोरीको घटना बढ्न थालेपछि सूक्ष्म अनुसन्धानका साथै निगरानी बढाएको लमजुङ प्रहरीले आइतबार घिमिरेलाई पक्राउ गरेको हो। पक्राउ परेकी घिमिरेको साथबाट सुनको रानीहार, मिनीहार, सिक्री र सुनको गणेशको मूर्ति लकेट एक÷एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी प्रकाश सिर्मलले बताए।
त्यस्तै, सुनको बाला, औंठी, झुम्का, सुनको रातो पत्थर जडित औंठी, सुनको पत्थर जडित टप, सुनको औंठी दुई÷दुई थान र सुनको टप ४ थानसमेत फेला परेको उनले जानकारी दिए। सुजाविरुद्ध चोरी तथा डाँका कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी सिर्मलले बताए।