सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • इन्स्टाग्राममा क्यानडा रोजगारीको नक्कली विज्ञापन देखाएर ३४ लाख ठगी

इन्स्टाग्राममा क्यानडा रोजगारीको नक्कली विज्ञापन देखाएर ३४ लाख ठगी

इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्क परमिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितले गुमाए ठूलो रकम।
 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा पर्ने क्रम बढिरहेको छ। उनीहरुले ३४ लाख बुझाएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका हुन्।

National life

त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। कार्यालका अनुसार इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारका लागि क्यानडा जान वर्क परमिट भिसा पाइने भनी नक्कली विज्ञापनमा फस्दा पीडितहरु ठूलो रकम गुमाउन पुगेका हुन्।

अनुसन्धानमा उक्त विज्ञापनपछि सम्पर्कमा पुगेका पीडितलाई क्यानडामा क्यासियरको काम लगाइदिने र त्यसबापत ५ लाख ४५ हजार तलब हुने लोभ देखाएर रकम ठगी गरेको पाइएको हो।

‘क्यानडा जान प्रोसेसका लागि आइएलटिएस सर्टिफिकेट र सिभी, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनुस् भनी पटक–पटक ह्वाट्सएपबाट माग गरेको पाइयो। त्यसपछि पीडितले कागजात पठाएका थिए’, प्रहरी उपरीक्षक रेग्मीले भने, ‘उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा पैसा हाल्न लगााएको भेटियो।’

पीडितलाई त्यसरी लोभ्याएर पटक–पटक गरी जम्मा ३४ लाख ५७ हजार पठाउन लगाई ठगी गरेपछि उनीहरु सम्पर्कविहीन भएको भनी जाहेरी परेको थियो। सोही जाहेरीका आधारमा टोली परिचालन गरी खोजी थालिएको थियो।

Shivam cement

यसरी अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न पाइएपछि जिल्ला कास्की माछापुच्छ गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण नेपाली र  सप्तरी राजविराज नगरपालिका–४ का ३५ वर्षीय महावीरप्रसाद साहलाई पक्राउ गरी कानुनी कारबाही सुरु भएको उनले बताए।

प्रहरीले क्रिप्टो कारोबारमा संलग्न एक व्यक्तिलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा बूढानीलकण्ठ पासिकोटका पुरुषोत्तम कार्की छन्। उनीविरुद्ध नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत कारबाही भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 05, 2023| 12:14 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्