शुक्रबार, साउन ८, २०८३

पाथीभरा मन्दिरमा ३ करोड १९ लाख भेटी

 |  मंगलबार, भदौ १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १९, २०८०

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ। आर्थिक वर्ष २०७९-८० मा तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो। 

नोट पैसा दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने दुई करोड १४ लाख भेटी सङ्कलन भएको थियो। उनले समितिको कोषमा सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताए। पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ। यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए।

भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन , फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ।

समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ। समितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ।

प्रकाशित: Sep 05, 2023| 08:33 मंगलबार, भदौ १९, २०८०
प्रतिक्रिया दिनुहोस्