बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ५५ अर्बका विमानस्थल चलाउन नसकेपछि निजीलाई सुम्पिने जुक्ति

Siddartha premir insuranceSiddartha premir insurance

५५ अर्बका विमानस्थल चलाउन नसकेपछि निजीलाई सुम्पिने जुक्ति

अर्बौं ऋणमा निर्माण गरिएका गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बिजनेस पाउन नसकेपछि निजी क्षेत्रलाई व्यवस्थापन सुम्पिने तयारीमा सरकार जुटेको छ।
 |  सोमबार, भदौ १८, २०८०
nespernesper

गोकुल अर्याल

गोकुल अर्याल

सोमबार, भदौ १८, २०८०

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न भन्दै चिनियाँ ऋण अनुदानबाट निर्माण गरिएका रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएको दुई वर्ष पुग्नै आँटे पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्।

triton college

भैरहवा र पोखरामा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणको छिमेकीका विभिन्न सहरमा उडान गर्ने भनिए पनि चीनको ऋणमा निर्माण गरिएको कारण देखाउँदै भारतले रुट इजाजत दिएको छैन। भारतले भैरहवा र पोखराबाट हवाई मार्ग रुट इजाजत नदिँदा अर्बौं ऋण लागतमा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थल बिजनेसविहीन भएर आन्तरिक उडानमै सीमित रहेका छन्।

दुईटै विमानस्थलबाट उडानका लागि सुरुमा केही अन्तर्राष्ट्रिय कम्पनीले चासो नदेखाएका भने होइनन्। तर, भारतले हवाई रुट नदिँदा पोखरा र भैरहवा उडान सञ्चालन गर्ने विदेशी विमान कम्पनीलाई काठमाडौंको फेरो मार्नु परेपछि लागत महँगो परेको भन्दै हाल यदाकदा चार्टर उडानबाहेक अन्तर्राष्ट्रिय उडान हुन छाडेको छ।

यद्यपि केही दिनअघि सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले पोखरा र भैरहवाबाट भारत, हङकङ–मलेसिया उडान सुरु गरेको छ। उडान सञ्चालन गरेकै दिन यात्रु अभावमा रित्ता जहाज गन्तव्य मुलुक पुगेका थिए।

भैरहवा र पोखरा विमानस्थलबाट विदेशी विमान उडानका लागि सरकारले पहल गरिरहे पनि हालसम्म सफलता भेटिन सकेको देखिँदैन। अर्बौं ऋण लागतमा निर्माण गरिएका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा नेपालको हवाई उडानको साँघुरोपन अझै हट्ने अवस्था आइनसकेको संकेत गरेको छ।

Metro Mart
vianet

सरकारले पछिल्लो समय गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पब्लिक–प्राइभेट–पार्टनरसिप (पीपीपी) मोडलमा सञ्चालन गर्ने तयारी थालेको बुझिएको छ। आइतबार विराटनगरमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले महँगोमा निर्माण भएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडलमा सञ्चालनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्ने सम्पूर्ण तयारी गरिसकेको बताए।

उनले भने, ‘यी दुई विमानस्थल धेरै खर्चमा बनाइए पनि के–कति व्यावसायिक अध्ययन, अनुसन्धान गरिएको भन्नेबारे तत्कालीन मन्त्रीज्यूहरुलाई नै थाहा होला। दुई विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गर्दै व्यावसायिक परियोजना ल्याउन लागेका छौं। पीपीपी मोडलमा जान छिट्टै नागरिक उड्डयन प्राधिकरणबाट निर्णय गरेर मन्त्रालयमार्फत मन्त्रिपरिषद्‍मा लैजाँदै छु।’

उनले गौतम बुद्ध र पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट चार्टर उडान सुरु भएको, भुटानबाट पनि प्रयास भइरहेको, क्वालालम्पुरबाट भैरहवा, भैरहवाबाट काठमाडौं, काठमाडौंबाट हङकङ, क्वालालम्पुरबाट काठामाडौं र काठमाडौंबाट दिल्ली र कोलम्बो उडानका लागि तयारी भइसकेको दाबी गरे।

उपत्यकाबाहिरका विमानस्थललाई बिजनेसरहित बनाउन एसिया महादेशमा न्यारोबडी उडानका लागि कनेक्सन फ्लाइटको तयारीमा रहेको उनले जानकारी दिए। ‘दुबईबाट उडेका व्यक्तिलाई काठमाडौंमा अवतरण गर्नेबित्तिकै ट्रान्जिट भएर जान चाहेको विराटनगर, पोखरा, भैरहवा वा नेपालगञ्ज पुगेपछि त्यहाँबाट पनि ट्रान्जिट भएर आ–आफ्ना जिल्ला वा घर नजिकको विमानस्थलसम्म जाने कनेक्सन फ्लाइटको व्यवस्था गर्ने योजना छ,’ उनले भने।

दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा झमेला भइरहेका बेला मन्त्री किरातीले थप तीन वटा जहाज किन्ने तयारी अन्तिम चरणमा पुगेको खुलासासमेत गरेका छन्।

पोखरामा अन्तर्राष्ट्रिय उडान नहुनुलाई गम्भीर रूपमा लिएका छौं: अर्थमन्त्री
पोखरा विमाननस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुलाई सरकारले गम्भीर रूपमा लिएको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन्। पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै उनले विमानस्थल ‘फुल फेज’मा चल्न केही बाधा व्यवधान रहेकाले त्यसलाई हटाउन जरुरी रहेको बताए।

‘ओभरकस्टमा बनेको यो विमानस्थलको साँवाब्याज तिर्ने अवस्थामा आयो तर अहिले रनिङ कस्ट पनि उठाउन सकिरहेका छैनौं,’ उनले भने, ‘जनताले तिरेको करबाट गरिएको लगानी कसरी रिटर्न भन्ने चुनौती हामीसँग छ।’ विमानस्थल चलाउन कहाँ-कहाँबाट ‘कनेक्टिभिटी’ ल्याउन सकिन्छ भन्नेमा सरकारले गृहकार्य गरिरहेको उनले बताए। विकास निर्माणको सवालमा केही माग पनि भावना बगेर गर्ने र निर्णय पनि भावनामा बगेर गर्दा लगानी जोखिममा पर्ने गरेको उनको भनाइ थियो।

पोखराको छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि १७ पुस २०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उद्घाटन गरेका थिए।

११ जहाज पार्किङ, आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण क्षमताको विमानस्थलमा १५० देखि १८० सिटका एयरबस ३२० र बोइङ ७५७ वा सोसरहका जहाज उड्न सक्छन्।

भारतले भैरहवा र पोखराबाट हवाई मार्ग रुट इजाजत नदिँदा अर्बौं ऋणमा निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सीमित भएका छन्।

पोखरा विमानस्थल उद्घाटनका दिन हिमालय एयरलाइन्सले पोखरामा न्यारोबडी विमानबाट डेमो फ्लाइट गरे पनि त्यसयता नियमित फ्लाइट हुन सकेको छैन। केही दिनअघि भुटान सरकारको स्वामित्वमा रहेको डु«क एयरले भुटान–पोखरा अन्तर्राष्ट्रिय उडानका लागि नागरिकको उड्डयन प्राधिकरणमा निवेदन बुझाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘देशमा तीन वटा विमानस्थल सञ्चालनमा आए। हाम्रोजस्तो भौगोलिक बनावट भएको देशमा हवाई पूर्वाधार आवश्यक छ। अझै देशमा पूर्ण क्षमताको विमानस्थल आवश्यक छ। निजगढ निर्माण छिट्टै सुरु हुन्छ।’ निजगढमा विमानस्थल निर्माणको काम अगाडि बढाएर देशलाई कनेक्टिभिटी क्षेत्रमा एउटा युगमा प्रवेश गराउने हो।’

तर, प्रधानमन्त्रीले देशमा थप अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको औंल्याए पनि भएका विमानस्थलसमेत चल्न सकेका छैनन्। पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएकै दिन निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतका तीन सहरमा उडान सुरु गर्ने तयारी गरे पनि भारतले अनुमति नदिँदा उडान हुन सकेन। त्यसपछि नेपालका निजी कम्पनीले पोखराबाट भारत उडानका लागि कुनै प्रक्रिया अगाडि बढाएका छैनन्।

विमानस्थलको यान्त्रिक परीक्षण गरेको थाइल्यान्डको एरोथाई कम्पनीले क्यानलाई पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका योग्य रहेको प्रतिवेदन बुझाइसकेको छ भने क्यानले पनि त्यसमा सहमति जनाइसकेको छ। विमानस्थलको यान्त्रिक परीक्षणमा हवाई रुट, धावनमार्ग, उडान व्यवस्थापन प्रणाली, नेभिगेसनसँगै विमानस्थलले प्रदान गर्ने सेवा–सुविधा उल्लेख हुने गर्छ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न रुटको विषयमा भारतसँग छलफल भइरहेको विमानस्थलका निर्देशक विक्रम गौतमले त्यतिबेला बताएका थिए। तर अहिलेसम्म भारतले अनुमति दिएको जानकारीमा छैन। सुरुमा पोखराबाट जजिरा, थाई स्माइल, कतार एयरवेज र फ्लाई दुबईले पनि उडानको इच्छा देखाएका थिए। यीमध्ये जजिराले केही समय पोखराबाट उडान गरे पनि नियमित हुन सकेन।

विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २१ करोड ७० लाख अमेरिकी डलर (करिब २२ अर्ब) ऋण दिएको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडलमा निर्माण भएको विमानस्थलमा ४५ मिटर चौडाइ र २५ सय मिटर लामो धावनमार्ग छ।

विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा २०३२ मा ३१ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहणको ४१ वर्षपछि वैशाख २०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो । शिलान्यासपछि थप करिब आठ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो। निर्माण थालनी १८ साउन २०७४ बाट सुरु गरिएको थियो।

गौतम बुद्धको पवित्र जन्मथलो लुम्बिनीमा विश्वभरका बौद्ध धर्मावलम्बीलाई दर्शन गराएर पर्यटन उकास्ने रणनीतिअनुसार निर्माण गरिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ८ वैशाख २०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण पूरा भएर सञ्चालनको विधिवत उद्घाटन गरेका थिए।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नयाँका विमानस्थल रुपमा गौतमबुद्ध सञ्चालनमा आएको हो। राष्ट्रिय गौरवको आयोजनामा समेटिएको विमानस्थलमा ३ हजार मिटर लामो नयाँ धावनमार्ग रहेको छ।

गौतमबुद्ध विमानस्थलबाट छिमेकी भारतसहित दक्षिण एसियाली मुलुक, चीन, थाइल्यान्डलगायमा उडान गरिने भनिएको थियो। तर, भारतले रुट इजाजत नदिँदा हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। विमानस्थलमा जजिरा एयरले सोही वर्षको २ जेठदेखि उडान भरे पनि नियमित हुन भने सकेन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन क्षमता रहे पनि अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्। पछिल्लो समय सरकारी स्वामित्वको नेवानिले दिल्ली, मलेसिया, हङकङ उडान थाले पनि नियमित हुनेमा शंका छ।

सुरुमा गौतमबुद्धबाट उडान भर्न ११ बढी मुलुकका कम्पनीहरुले चासो देखाएका थिए। नेपाल वायुसेवा निगम, जजिरा, श्रीलंकन एयरवेज, ओमानको सलाम एयवेज, थाई स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका थिए। तर, भारतले रुट इजाजत नदिएपछि नेवानिबाहेकका विदेशी कम्पनीका जहाजले गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान भरेका छैनन्।

८ सय बिघामा फैलिएको र करिब साढे ३२ अर्ब ऋण लागतको विमानस्थल निर्माण भएको हो। ३ हजार मिटर लम्बाइको रनवेको विमानस्थलमा बोइङ ७७७ र एयरबस ३३० र सोही क्षमताका वाइडबडी विमान अवतरण र उडान भर्न सक्ने क्षमता छ। अर्बौं विदेशी ऋणमा निर्माण गरिएका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेका बेला सरकारले निजी क्षेत्रलाई संलग्न गराएर स्वामित्व सुम्पिने पहल थाले पनि भारतबाट रुट इजाजत प्राप्त नहुन्जेल दिगोपनामा भने शंका रहिरहने निश्चित छ।

सरकारले पीपीपी मोडलमा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी थाले पनि नेपालको निजीले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। बरु निजी क्षेत्रले प्रधानमन्त्री प्रचण्डको निकट चीन भ्रमणका बेला त्यहाँका विभिन्न सहरबाट दुवै विमानस्थलमा नियमित उडानका लागि कुरा राख्न आग्रह गरेको छ।

प्रकाशित: Sep 04, 2023| 18:16 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्