सोमबार, असार २३, २०८२

अलपत्र शव तथा हराएका व्यक्ति सनाखत गर्न वेबसाइट सञ्चालन 

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले खुलाइयो वेबसाइट।
 |  सोमबार, भदौ १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

vianetvianet

काठमाडौं– नेपाल प्रहरीले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको विवरण समेटिएको वेबसाइट सञ्चालनमा ल्याएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा यूडीबीडट नेपालपोलिसडट जीओभीडट एनपी वेबसाइट उद्घाटन गरेका हुन्।

यो वेबसाइट निर्माण भएसँगै यसलाई नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने महानिरीक्षक कुँवरले सुझाव दिए। वेबसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा सञ्चालन गरेर सरोकारवालाको पहुँचमा लैजान र बढीभन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्ति सनाखत गर्न सहज र सक्षम हुने विश्वास उनले व्यक्त गरे।

नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवालाको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातावरण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेबसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा वेबपेज निर्माण कम्पनी योंगमाइन्ड्स क्रियसन प्रालिका प्रबन्ध निर्देशक डा।श्रीधर मरासैनीले वेबसाइट प्रयोगको प्रभावकारिता र विशेषताबारे जानकारी दिएका थिए।

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवको विस्तृत विवरणसहित छुट्टै वेबपेज निर्माण गर्न संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकले २ वैशाख २०७८ मा निर्णय गरेको थियो। 

सोहीअनुसार नेपाल प्रहरीको मुख्यालयले अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको विवरण समेटी सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरे आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेबसाइट प्रयोगमा ल्याइएको प्रहरीले जनाएको छ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृत र योंगमाइन्ड्स क्रियसन प्रतिनिधि उपस्थित थिए।

प्रकाशित: Sep 04, 2023| 13:35 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्