सोमबार, जेठ २५, २०८३

'एरोपोनिक' प्रविधिबाट हावामा आलुको बीउ उत्पादन

 |  सोमबार, भदौ १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १८, २०८०

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो।

National life

उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो। ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ। यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ’, उद्योगका सञ्चालक शशि अधिकारीले भने। उनका अनुसार ४० दिनमा ती बिरुवाको जरामा झुप्पा बनी बीउ बन्दछन्।

एक बिरुवामा ५० देखि चार सयसम्म बीउ उत्पादन हुने अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त प्रकृतिको बीउ उत्पादन गर्न उद्योगमा रू एक करोडमा छुट्टै प्रयोगशाला निर्माण गरिएको छ। नयाँ प्रविधि भएकाले अन्य जातका आलुको तुलनामा उत्पादनको परिमाणबारे यकीन गर्न नसकिएको उनको भनाइ थियो।

‘यसरी उत्पादन गरिएको बीउलाई परीक्षणका लागि निर्माण गरिएको टनेलमा करिब पाँच पटक (पाँच पुस्ता)सम्म रोपेर मात्रै कृषकलाई खेतबारीमा रोप्न पठाउने गरिन्छ’, अधिकारीले भने। उनका अनुसार गत साउनदेखि उक्त नौलो प्रविधिबाट आलुको बीउ उत्पादन प्रक्रिया थालिएको हो।

यो प्रविधि नेपालमै नयाँ भएकाले यसप्रति कृषि प्राविधिकको चासो बढेको उद्योगका अर्का सञ्चालक राजेन्द्र थापाले बताए। उनका अनुसार उद्योगका प्राविधिकले नयाँका साथै पुरानै जातका आलुको नयाँ प्रविधिबाट बीउ उत्पादन गर्न थालेका छन्।

Shivam cement

उक्त उद्योगमा आलुको बीउ उत्पादनमा नयाँ प्रविधि ल्याइएपछि हाल कृषक, कृषि प्राविधिक तथा बीउ व्यवसायी अवलोकनका लागि आउने गरेका थापाले जानकारी दिए। उनका अनुसार उद्योगमा सिँचाइका लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ लाख ५४ हजार रकम विनियोजनसमेत गरिएको थियो।

प्रकाशित: Sep 04, 2023| 07:22 सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्